२१ कार्तिक २०८३, शुक्रवार

इस्ट होराइजनमा देउसी–भैली खेल्ने र रंगोली बनाउने प्रतियोगिता

२१ कार्तिक २०८३, शुक्रवार
Image

झापा, २० कात्तिक । मेचीनगर नगरपालिका– १० स्थित इस्ट होराइजन माध्यमिक विद्यालयले विद्यार्थीलाई मौलिक कला र संस्कृति सिकाउने उद्देश्यले देउसी–भैली खेल्ने र रंगोली बनाउने प्रतियोगिता गरेको छ ।

विद्यालयको कक्षा ३, ४ र ५ का विद्यार्थीहरुबीच विहीवार देउसी–भैली प्रतियोगिता भएको थियो । प्रतियोगितामा कक्षा ५ को सूर्यमुखी सदन प्रथम भएको विद्यालयका प्रिन्सिपल सञ्जिव राईले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी समूहबीच नै प्रतिष्पर्धा भएको रंगोली बनाउने प्रतियोगितामा कोशी सदनका विद्यार्थीहरु प्रथम भएका थिए ।

देउसी–भैली प्रतियोगिताका लागि विद्यार्थीहरु परम्परागत पहिरनमा सजिएका थिए भने मादल, बाँसुरी लगायतका बाद्यबादन आफैले बजाएका थिए । सेलरोटी विद्यार्थीले आफै पकाएका थिए ।

विद्यार्थीहरुले रंग, पीठो र फूलको प्रयोगबाट आकर्षक रंगोली बनाएको शिक्षक महेश खड्काले बताउनुभयो । मौलिक परम्परा, कला र संस्कृति सिक्न र जान्नका लागि प्रतियोगिता उपलब्धिपूर्ण रहेको उहाँको भनाई छ ।

विद्यार्थीको गायन कला, वक्तृत्वकला र अन्य बौद्धिक प्रस्तुतिलाई प्रोत्साहित गर्न विद्यालयमै सुविधासम्पन्न आधुनिक रेडर्किङ स्टुडियो समेत सञ्चालनमा ल्याइएको शिक्षिका शुष्मा राजबंशीले जानकारी दिनुभयो ।