३ असोज २०८१, बिहिवार

मेचीनगरका एक सय ५९ जनाले पाए उपचार सहयोग

२९ असार २०८०, शुक्रवार
Image

झापा, २९ असार । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका १५९ जना विरामीले चालु आर्थिक बर्षमा रु. एक लाखका दरले उपचार सुविधा पाएका छन् । 

नगरपालिकाले क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात लगायतका रोग लागेका विरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

स्वास्थ्य शाखाले जनाए अनुसार क्यान्सरका ९० जना, मृगौला प्रत्यारोपणका २८ जना, मुटुका २२ जना र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।

नेपाल सरकारले क्यान्सर, मुटु, मृगौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ । 

सरकारले बिरामीलाई सिधै रकम दिदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालहरुले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् । 

यसैगरी पालिकाले नगर क्षेत्रका २०१ जना विरामीलाई नगद रु. पाँच हजारका दरले औषधि उपचार खर्च वापतको रकम वितरण गर्ने तयारी गरेको छ । 

चालु आर्थिक बर्ष २०७९/०८० मा नगरमा उपचार माग भएका २०१ जनाको रु. ८७ लाख २० हजार वितरण गर्ने तयारी गरेको छ । सरकारले जटिल प्रकृतिका विरामीका लागि मासिक रुपमा रु. पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ ।