१२ साउन २०८१, शनिवार

मेचीनगरमा खानेपानीबाट थप छ हजार परिवार लाभान्वित बन्दै

१० भदौ २०८०, आइतवार
Image

झापा, १० भदौ । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन ठूला खानेपानी आयोजनाबाट छ हजार घर परिवार लाभान्वित बन्ने भएका छन् ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तगरत चारआली, धुलाबारी र भृकुटीमा बनिरहेका ती आयोजनाबाट करिब छ हजार घर परिवार लाभान्वित बन्ने आयोजनाका अध्यक्ष राजकुमार पराजुलीले जानकारी दिनुभयो । उहाँले सो आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको बताउनुभयो ।

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको रु. १६ करोड ६६ लाख ७३ हजार ८१४ मूल्य अभिवृद्धि करसहित सिएवी, जिआरडी.जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको थियो ।



स्थानीय उपभोक्ताहरुले जनश्रमदान वापतको रकम रु= दुई करोड आठ लाख ३४ हजार २२६ व्यहोर्ने सर्तमा वि.संं २०७८ असार २९ गते वि=सं= २०८० पुस २९ गते निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो ।

उहाँले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकीमा जम्मा गरी सप्लाई गरिने बताउनुभयो । जसबाट प्रति आयोजना दुई हजार बढी परिवार लाभान्वित बन्नेछन् ।

अध्यक्ष पराजुलीले बर्षातको समयमा थोरै खन्दा समेत जमिनबाट पानी निस्कने भएको कारण पाइप लाइन विस्तारमा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्यांकी रहेको छ । जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् ।

मेचीनगर–२ का बासिन्दा बर्षौदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए । बर्षौदेखिको खानेपानीको समस्याबाट वडा नम्बर २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताउनुभयो ।

“शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो”, उहाँले भन्नुभयो, “माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ । यसले थोरै भए पनि राहत पुग्यो ।” निर्माणको ठेक्का लिनुभएका सिएवी, जिआरडी=जेभीका प्रमुख देवेन्द्रप्रसाद चौगालाईंले भने करिब ९५ प्रतिशत निर्माण कार्य पूरा गरेको दाबी गर्नुभयो ।

उहाँका अनुसार जमिनको १५० मिटर गहिराईबाट बोरिङमार्फत पानी निकालिएको छ । उहाँले तोकिएको समय भन्दा अगावै आयोजनाको काम सम्पन्न गरी हस्तान्तरण गरिने बताउनुभयो । उहाँले हाल ओभरहेड ट्यांकी, डीप बोरिङलगायतका सबै निर्माण कार्य सकिएको र थोरै स्थानमा बाँकी रहेको पाइप लाइन विस्तारको काम मात्र भइरहेको बताउनुभयो ।