४ जेठ २०८१, शुक्रवार

हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन पहिलोपल्ट बीमा

२४ कार्तिक २०८०, शुक्रवार
Image

झापा, २४ कात्तिक । जंगली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन पहिलोपल्ट बीमा कार्यक्रम सञ्चालन गरिएको छ । 

हात्तीले जनधनमा निरन्तर क्षति पुर्याउन थालेपछि पीडितहरुलाई राहत दिलाउन मेचीनगर वडा नं. ४ मा जीवन बीमा र घरबीमाको थालनी गरिएको हो ।

शिखर इन्सुरेन्ससँग गरिएको सम्झौता अनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम् रु. एक लाख ५० हजार क्षतिपूर्ति पाउने छ । प्रति घरधुरी बीमा गराउन वार्षिक रुपमा रु. ९५ मा बीमा शुल्क लागेको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमति अनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

भारतको आसामदेखि हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो । बिगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरको चार वटामा पुनःसंरचित भएको छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं. ४ बाट बीमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

वडाका सबै परिवारलाई घरबीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर, वडाका कूल एक हजार ३०२ घरधुरीमध्ये ६५९ वटा घर मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

“कुनै पनि घर नछुटुन् भनेर सबै वडाबासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौं,” उहाँले भन्नुभयो–“तर, कतिपयले कागजात वडा कार्यालयमा बुझाउनै आउनु भएन । जो जो सम्पर्कमा आउनुभयो, उहाँहरुको घरको बीमा गरेका छौं ।” छुट भएका घरहरुलाई पछि समावेश गरिने उहाँले बताउनुभयो ।

वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ जना स्वयम्सेवक युवाको समेत जीवन बीमा गरिएको छ । ती स्वयम्सेवक युवालाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रुपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।

हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला हात्तीको आक्रमणमा परिने जोखिम भएको हुँदा आरआरटीका युवाहरुको रु. पाच लाखको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो ।

बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ जना युवा आवद्ध छन् । गत वर्षदेखि हात्ती नियन्त्रणमा युवाहरुको यो समूहलाई परिचालन गर्न थालिएको हो ।