१९ मंसिर २०८२, बिहिवार

झापामा दुई मतदान स्थल सारिए, डेढ सय बढी मतदान केन्द्र थपिदै

१९ मंसिर २०८२, बिहिवार
Image

झापा, १८ मङ्सिर । फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुई वटा मतदान स्थल असहज परिस्थितिका कारण सारिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । 

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले मतदान स्थल रहेका स्वास्थ्य केन्द्रहरु नगर अस्पतालमा परिणत भएर विरामीको चाप बढेको कारण अर्को स्थानमा सारिएको बताउनुभयो । 

उहाँका अनुसार मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वाथ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट सारिएको हो । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् । 

“नगर अस्पतालमा सेवाग्राहीको चाप बढी हुन्छ”, उहाँले भन्नुभयो, “चुनावका बेला तीन चार दिन अस्पताल बन्द गर्नुपर्ने हुन्छ । यसो हुँदा सेवाग्राहीलाई असर पर्ने देखेर सारिएको हो ।” उहाँले धुलाबारी स्वास्थ्य केन्द्रको मतदान स्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदान स्थललाई नजिकै रहेको डोमालाल राजवंशी रंगशालामा सारिएको बताउनुभयो । 

उहाँले जिल्लामा विगतमै रहेका २८५ मतदान स्थल नै कायम रहने जानकारी दिनुभयो । तर मतदान केन्द्र भने मतदाताको संख्यामा थपिने छन् । उहाँले जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने जानकारी दिनुभयो । 

उहाँका अनुसार एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । उहाँले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आठ सय बढी मतदान केन्द्र थपिने अनुमान रहेको बताउनुभयो । झापामा नयाँ थपिएका मतदातासहितको संख्या सात लाख १४ हजार ५९५ पुगेको छ ।