४ जेठ २०८१, शुक्रवार

पटाका आतंक राेक्न माग गर्दै प्रदर्शन

२४ कार्तिक २०८०, शुक्रवार
Image

मेचीनगर, २४ कात्तिक । पटका पड्काउँदा प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा सिधै असर पर्ने भएकोले त्यसलाई रोक्न मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले स्थानीय सरकार र प्रहरी प्रशासनलाई ध्यानाकर्षणसहितको पत्र बुझाएको छ ।

आज समाज र अभियानका अगुवा, समाजसेवीहरुले मेचीनगर नगरपालिका तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जथाभावी पटका, आतिशवाजीले प्रकृति, वातावरण र मानवको स्वास्थ्यमा असर पर्ने भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष देवेन्द्रकुमार खरेल र अभियानकी अध्यक्ष रचना घिमिरको नेतृत्वमा गएको टोलीले मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र इप्रका प्रमुख एवम् डीएसपी दीपक भारतीलाई सो विषयमा ध्यानाकर्षणसहितको पत्र बुझाएको थियो ।

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले समाजलाई आतंक पार्ने गरी पटका पड्काउनेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको बताएका छन् ।

प्रहरीले पनि साँझ मेचीनगरमा पटका नपड्काउन माइकिङ गरेको छ । पड्काएको थाहा पाए तुरुन्त पक्राउ गरी कारवाही गरिने जनाएको छ ।

‘पटका भित्रिन नदिन नाकामा कडाई गरिएको छ’, डीएसपी भारतीले भने–‘केहि पटकाहरु बरामद गरेका छौँ । टोल टोलमा प्रहरी खटाइएको छ । सचेत गराउने काम गरेका छौँ । पटका पड्काएको थाहा हुने वित्तिकै पक्राउ गरिन्छ । विस्फोटक पदार्थ ऐन अन्तरगत जरिवानासहित कारवाही गरिनेछ ।’

नेपालीहरुको महान चाड तिहारमा वारुदजन्य विस्फोटक सामाग्रीहरु (विभिन्न प्रकारका पटका, आतिशवाजी) पड्काउदा नकारात्मक असरले प्रकृती, वातावरण, पशुपंक्षी र मानव स्वास्थ्यमा असर पर्ने अध्यक्ष खरेलको भनाई छ ।

पटकामा प्रयोग हुने वारुद तथा अन्य रसायनका कारण क्यान्सर, अल्जाइमर, छालाका विभिन्न एलर्जी हुने, तिब्र डेसिवलको ध्वनीले कानको जाली फाट्न सक्ने, दुर्गन्ध, ध्वनी प्रदुषण, रसायनको धुँवाको नकारात्मक प्रभाव, अंगभंग हुने भएकोले कानुनले निशेष गरेका यस्ता क्रियाकलाप रोक्न ज्ञापनपत्र बुझाइएको अभियानकी अध्यक्ष घिमिरेले बताइन् ।

काँकरभिट्टा स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा पटका आतंक बन्द गर, बातावरणको रक्षा हाम्रो सुरक्षा लगायतका नारासहित सामाजिक अगुवाहरु प्यले कार्ड बोकेर नागरिकलाई सचेत गराउने प्रयास गरेका थिए ।