२३ वैशाख २०८१, आइतवार

अढाई अर्बको चिया र सवा अर्बको अलैची निर्यात

१२ मंसिर २०८०, मङ्गलवार
Image

झापा, १२ मङसिर । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैची, अदुवा र अम्रिसो (कुचो)को निर्यात उत्साहजनक देखिएको छ ।

पूर्वीनाका काँकडभिट्टा भएर चालू आर्थिक वर्ष २०८०/०८१ को त्रैमासिक अवधिमा रु. दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार ३३१ मेट्रिक टन अर्गानिक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।

झापा, इलाम, पाँचथर, धनकुटा लगायतका कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको अर्गानिक चियाको भारत लगायत यूरोपको बजारमा माग बढिरहेको व्यवसायीहरु बताउँछन् ।

पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/०८१ को साउन, भदौ र असोज महिनामा रु. एक अर्ब २० करोड ८० लाख मूल्य बराबरको एक हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ ।

पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ लगायतका जिल्लाहरुमा ओसिलो खोल्सी खेतहरुमा अलैचीको खेती हुँदै आएको छ । औषधि र मसालाको रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ ।

आव २०८०/०८१ को त्रैमासिक अवधिमा रु. २२ करोड ९५ लाख चार हजार मूल्य बराबरको एक हजार ७९३ मेट्रिक टन अदुवा पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएको छ ।

निर्यात अघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्याएर गुणस्तरीय बनाएर भारत निकासी हुँदै आएको छ ।

अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बंगलादेशमा ठूलो माग रहेको छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ ।

चालू आवको त्रैमासिक अवधिमा रु. २९ करोड ४० हजार मूल्य बराबरको दुई हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिनुभयो । अन्य बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लाहरुमा अम्रिसोको खेती हुन्छ । फूललाई छिप्पिएपछि थुतेर कुचोको रुपमा प्रयोग हुने भएकाले यसबाट किसानहरु लाभान्वित भइरहेका छन् । अम्रिसोको घास गाईवस्तुलाई खुवाउन प्रयोग हुन्छ ।

पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाको रुपमा प्रयोग हुने तेजपाता पनि भारत निकासी हुन थालेको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिमा रु. ७४ करोड १८ लाख १९ हजार मूल्य बराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी भएको छ । सोही अवधिमा रु. १७ लाख ९२ हजार मूल्य बराबरको २८ मेट्रिक टन तेजपत्ता भारत निकासी भएको छ ।

नेपालबाट भारततर्फ निकासी हुने कृषि वस्तुमा मसुरो दाल समेत रहेको छ । सोही अवधिमा रु. आठ करोड चार लाख १९ हजार मूल्य बराबरको ५८७ मेट्रिक टन मसुरो दाल निकासी भएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।