२२ वैशाख २०८१, शनिवार

कृषि उद्यममा लगानी बढाउँदै एनएमसी सहकारी

१६ मंसिर २०८०, शनिवार
Image

झापा, १६ मङसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले बचत तथा ऋण कारोवारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ ।

संस्थाले डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा रु. ७० करोड ५१ लाख ३७ हजार ३०४ लगानी गरेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताउनुभयो । मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टामा प्रधान कार्यालय रहेको यस संस्थाको ५८ वटा सेवा केन्द्र झापा, मोरङ र इलाम जिल्लामा सञ्चालनमा छन् ।

सबैभन्दा बढी लगानी एनएमसी एग्रो फार्ममा रहेको छ । मेचीनगर–१४ दुहागढीमा १६ बिगाहा क्षेत्रफलमा सञ्चालित उक्त फार्ममा संस्थाले रु. २२ करोड ७५ लाख ९६ हजार ८३४ लगानी गरेको छ ।

संस्थाका अध्यक्ष शिवाकोटीका अनुसार पाँच वर्ष अघि स्थापित उक्त फार्ममा हाल ८० वटा उन्नत जातको गाईपालन, ५० वटाभन्दा बढी कृषि यन्त्र रहेको कस्टम हाइरिङ सेवा, ५० घार मौरीपालन, पाँच वटा पोखरीमा माछापालन र हाँसपालन भइरहेको छ ।

कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा अघि बढाउने उद्देश्यका साथ सञ्चालित उक्त नमुना फार्ममा वार्षिक १४ लाख केजी साइलेज (पशु आहार) र फलफूल र तरकारीका एक लाख ७५ हजार विरुवा उत्पादन हुँदै आएको छ । फार्मबाट उत्पादित महलाई संस्थाले आफ्नै ब्रान्डमा बजारमा बेच्न सुरु गरेको छ । 

संस्थाले ‘एनएमसी’ ब्रान्डको चिया, मह र डेरीका उपभोग्य बस्तुहरु उत्पादन गर्दै आएको छ । दुई वर्ष अघि मात्र चिया क्षेत्रमा प्रवेश गरेको सहकारीले झापाको मेचीनगर–३ सुरेन्द्रनगर, इलामको सिद्धपोखरी र साँघुबेसीमा गरी तीन वटा चिया कारखाना सञ्चालन गरिरहेको छ ।

तीन वटै कारखानाबाट अर्गानिक अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ । जसको ८५ प्रतिशत उत्पादन विदेशमा निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा एनएमसीले रु. दुई करोड दुई लाख १३ हजार ६०६ मूल्य बराबरको ८६ हजार ५७८  केजी अर्गानिक चिया भारत निकासी गरेको संस्थाका निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेती बताउनुहुन्छ ।

आफ्नै फार्म र संस्थाका सदस्य किसानहरुले उत्पादन गरेको बस्तुको बिक्रीका लागि संस्थाले झापामा १६ र इलाममा एउटा गरी १७ वटा सुपर मार्केट शैलीका सुपथ सहकारी पसलहरु सञ्चालन गरिरहेको छ ।

चार वर्ष अघि सुरु भएको एनएमसी सहकारी पसलमा संस्थाले रु. १९ करोड ९२ लाख १७ हजार ६१० लगानी गरिसकेको छ । गुणस्तरीय सामग्रीको विक्री गर्ने पसलको रुपमा यसका विक्री पसलहरुले आम उपभोक्तामाझ अलग र विश्वसनीय पहिचान बनाएको उप्रेतीको दावी छ ।

संस्थाले सञ्चालन गरेको अर्को महत्तवपूर्ण व्यवसाय डेरी उद्योग हो । मेचीनगर–८ मा स्थापना भएको एनएमसी डेरी उद्योगले स्थानीय किसानहरुबाट दैनिक १५ हजार लिटर कच्चा दुध संकलन गरी प्रशोधन गर्दै आएको छ ।

आठ वर्ष अघि स्थापना भएको उक्त उद्योगमा संस्थाले रु. १५ करोड लगानी गरेको जनाएको छ । उद्योगमा छ हजार ५०० किसान प्रत्यक्ष रुपमा जोडिएका छन् भने दैनिक सरदर रु. १३ लाखको कारोवार भइरहेको बताइएको छ । उद्योगले कच्चा दुधलाई प्रशोधन गरी प्रशोधित दुध, दही, पनिर, नौनी, घिउ, मिठाइ आदि उत्पादन गर्दै आएको उद्योगका डेरी व्यवसाय प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

वि.सं. २०५० सालमा स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा हाल एक लाख ५० हजार सदस्य छन् । आव २०७९÷०८० मा संस्थाको शेयर पूँजी रु. एक अर्ब ४० करोड र निक्षेप मौज्दात रु. नौ अर्ब ३८ करोड ३० लाख २९ हजार ६८५ रहेको थियो । 

संस्थाले कृषि तथा उद्योग व्यवसायमा लगानी बढाएसँगै रोजगारीको उल्लेख्य सिर्जना भएको छ । हाल संस्थामा एक हजार १४४ जना वैतनिक कर्मचारी कार्यरत छन् । जसमध्ये बचत तथा ऋण व्यवसायमा ९७९ जना, सहकारी पसलमा ११० जना, डेरी व्यवसायमा ७९ जना, एग्रो फार्ममा ५८ जना, चिया व्यवसायमा ५७ जना र कर्पोरेट कार्यालयमा ४३ जना कर्मचारी कार्यरत रहेका छन् ।