२२ वैशाख २०८१, शनिवार

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

१७ मंसिर २०८०, आइतवार
Image

झापा, १७ मङ्सिर  पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखहरुको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ ।

बन डिभिजन कार्यालय झापा अन्तरगतका मेचीनगर, कनकाई र दमक सब डिभिजन कार्यालयले सडकका रुखहरुमा टाँचा लगाउने कार्य थालेको छ । सब डिभिजन कार्यालयहरुले तीन खण्ड छुट्याएर आफ्नो क्षेत्रभित्रको राजमार्गमा रुखमा टाँचा लगाउन सुरु गरेका हुन् ।

एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी)को लगानीमा निर्माण हुन लागेको चार लेनको एसियाली राजमार्गका लागि रुख कटान गर्न गणना, नम्बरिङ र मूल्याङ्कनको काम सुरु गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषिराज पराजुलीले बताउनुभयो ।

उहाँले बन विभागबाट प्राप्त भएको पत्रको आधारमा कार्यालय मातहतका सब डिभिजनका कर्मचारीलाई परिचालन गरेर धमाधम काम गरिरहेको बताउनुभयो । मेचीनगर सब डिभिजन कार्यालयले काँकरभिटटादेखि चारआलीसम्म, कनकाई सब डिभिजनले विर्तामोडदेखि कनकाईसम्म र दमक सब डिभिजनले शिवसताक्षीदेखि दमक नगरपालिकासम्मका रुखमा नम्बरिङ र मूल्याङ्कनको काम गर्ने उहाँले जानकारी दिनुभयो ।

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक आसपासमा साल, खयर, सिसौ, सिरिस, पिपल, बर, कदम, मसला लगायत विभिन्न प्रजातिका रुखहरु हुर्किएका छन् । कोही रुख पचास वर्षभन्दा पुराना छन् भने केही नयाँ पनि छन् । 

“अब काम सुरु भयो”, डिभिजन वन कार्यालय झापाका अधिकृत पराजुलीले भन्नुभयो, “चाँडै नै रुखको तथ्याङ्क संकलन गरेर मूल्याङ्कन पनि गर्छौ ।” उहाँले सामुदायिक वन क्षेत्रभित्र पर्ने रुखहरु प्रक्रिया पूरा गरेर सामुदायिक वनलाई नै विक्रीका लागि हस्तान्तरण गर्ने र बाँकी रहेका रुखहरुलाई मूल्याङ्कनपछि विक्री गरेर नेपाल सरकारको राजस्वमा जम्मा गरिने बताउनुभयो । 

एसियाली राजमार्ग अन्तर्गत पूर्वीसीमा काँकडभिट्टामा दुई वर्ष अघि नै डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ । बंगलादेशबाट भारतको बागडोग्रा हुँदै पानीटंकी नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं. २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्ग स्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको भागमा पहुँच सडक विस्तार गरेको हो । यही पहुँच मार्गलाई नेपालभित्र एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।

स्थलमार्गबाट एसियाका देशहरुलाई जोडेर व्यापार र पर्यटन प्रवर्धन गर्ने मूल उद्देश्य बोकेको एसियाली राजमार्गको अवधारणा हो । थाइल्यान्डको बैंककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यान्मार, बंगलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्गमा मिसिन्छ । यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिनेछ । 

एसियाली राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको एसियाली विकास बैंकको एसियाली राजमार्ग निर्माण आयोजनाका उपनिर्देशक प्रदिप शाक्यले बताउनुभयो । एसियाली राजमार्ग अन्तर्गत सडक तथा पुल निर्माण कार्य निकट भविष्यमै कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो ।