२३ भदौ २०८१, आइतवार

हल्दिबारीका सबै काठे पुल हटाएर पक्की पुल निर्माण

२८ मंसिर २०८०, बिहिवार
Image

झापा, २८ मङ्सिर । हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की संरचना निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने अझै पनि काठका पुल छन् ।

गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले १५० वटा काठका जीर्ण पुल हटाएर पक्की संरचना निर्माण गरिएको बताउनुभयो । हटाइएको काठे पुलको ठाउँमा कतै कंक्रिटको पक्की पुल र कतै कल्भर्ट बनाइएका हुन् । केही झोलुंगे पुल पनि बनेका छन् ।

झापामा तीन दशक अघिसम्म अधिकांश खोला र खोल्साहरुमा काठका पुल बनाइएका हुन्थे । ती पुल घामपानीले  खिइँदै र पुरानो हुँदै जाँदा जीर्ण हुने गर्छन् । हाल हल्दिबारी गाउँपालिका काठे पुलमुक्त क्षेत्र भएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनिया लगायतका खोला छन् भने अजिंगर, हात्ती, हरिण, मृग आदि जनावरको बासस्थान रहेको जलथल जंगल पनि छ । पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ ।

भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ । पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्रे भइसकेको छ भने पुलहरु सबै कंक्रिटको पक्की बनिसकेका छन् । 

हल्दिबारीमा ४० हजार जनसंख्या रहेको र सबै पाँचै वटा वडामा कालोपत्रे सडक पुर्याउने योजना सम्पन्न भइसकेको पालिकाका योजना शाखाका प्रमुख राजन न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले बिगत छ वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरेको छ । मुख्य सडकहरु कालोपत्रे भइसकेका छन् । कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा संघीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएका छन् ।

मुख्य सडक कालोपत्रे भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ । अधिकांश सडक परियोजना रु. एक करोडदेखि छ करोडसम्मको लागतमा निर्माण भएका हुन् ।

पिपलचोकदेखि अनारमनी जाने सडक चार किलोमिटर लामो रहेको छ । लक्ष्मी चोक हुँदै ढडुवा र पञ्चायत जोड्ने सडक छ किलोमिटर र रमाइलो चोक हुँदै पाराखोपी र विर्तामोड जोड्ने सडक छ किलोमिटर लामो छ । यी ४० फिट चौडा सडक कालोपत्रे बनिसकेका छन् ।

बनेका सडकको नियमित मर्मत सम्भार गर्नका लागि पालिकाले वार्षिक रु. दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो । “सडकहरु एकपटक बनाउँदैमा सँधैभरि उस्तै रुपमा टिकिरहन्छ भन्न सकिन्न,” उहाँले भन्नुभयो–“त्यसकारण हामीले बनिसकेका सडकको गुणस्तर सँधै कायम राख्नका लागि वर्षेनी मर्मत सम्भार बजेट छुट्याउने गरेका हौं ।”

कालोपत्रे सडकमा खाल्डाखुल्डी परेको गुनासो आउनासाथ पालिकाले मर्मत गर्दै आएको छ । अनावश्यक योजना बनाउनुभन्दा थोरै र उपयोगी योजना छनौट गरेर प्राथमिकताका साथ निर्माण गर्दै आएको लिङ्देनले बताउनुभयो ।