२० वैशाख २०८१, बिहिवार

।। समाचार टिप्पणी ।।

लाचार मेयर, अराजक कार्यकारी अधिकृत

१७ पुष २०८०, मङ्गलवार
Image

मेचीनगर, १७ पुस । कुनै पनि संस्था निकम्मा हुनुमा कि प्रणाली दोषी हुन्छ कि नेतृत्व । मेचीनगर नगरपालिका लामो समयदेखि निकम्मा बन्दै आएको छ । जसको कारण प्रणाली होइन, सीधै नेतृत्व जिम्मेवार देखिन्छ ।

पछिल्लो स्थानीय तहको चुनावपछि मेचीनगरमा नगरप्रमुख (मेयर) गोपाल बुढाथोकीको नेतृत्वमा नेकपा एमालेले दुई तिहाई बहुमत सिट हासिल गरेको छ । उपप्रमुख (डेपुटी मेयर) मीना उप्रेती पनि एमालेकै हुनुहुन्छ । वडाहरु अधिकांश एमालेकै पकडमा छन् ।

नगरपालिकामा कुनै पनि निर्णय लिन मेयर बुढाथोकीलाई सुविधाजनक बहुमत छ । उहाँलाई कसैले थुनछेक गर्ला भन्ने सम्भावना छैन । तैपनि उहाँको नेतृत्व स्थापित भएपछि नगरपालिका सँधै अनिर्णयको बन्दी हुँदै आएको छ ।

यतिसम्म कि आन्तरिक आयको मुख्य स्रोत मानिएको ढुंगाबालुवाको ठेक्का उहाँ आएपछि लाग्न सकेको छैन । कर्मचारीहरुबीच वरिष्ठताको विवाद सामाजिक सञ्जाल हुँदै सडकसम्मै छताछुल्ल भयो । नगरका कर्मचारीहरुमाथि कार्यालयभित्र हातपातका घटनासम्म भए ।

मेयर बुढाथोकीले जिम्मेवारी सम्हाले यता चार जना प्रमुख प्रशासकीय अधिकृत आइसकेका छन् चौथो प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी पनि आइतवारको बबालपछि कार्यालयमा फर्केर आउलान् जस्तो लाग्दैन ।

मेयर बुढाथोकी नगरपालिकामा प्रवेश गर्दैगर्दा सुरेश दाहाल नगरको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । मेयरसँग असहमति व्यक्त गर्दै उहाँ स्वेच्छाले विवाद नगरी विदा हुनुभयो । अनि आउनुभयो राजकपुर चम्लागाई । उहाँसँग मेयर बुढाथोकीको सहकार्य हुन सकेन । उहाँको खर्च गर्न सक्ने अधिकार पनि कार्यपालिकाले खोसेको थियो ।

दंगा फसादकै क्रममा उहाँ मेचीनगरबाट बाहिरिनु पर्यो । अर्का एकजना दाहाल थरिका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा मेचीनगर आउन ठिक्क हुनुभएको थियो । खोइ के बेताल पर्यो उहाँ सरुवा बदर गराएर अन्तै जानु भएको सुनियो ।

मेचीनगरको प्रशासकीय अधिकृत भएर आउनु भएको महेश पराजुलीसँग पनि मेयर बुढाथोकीको सम्बन्ध सुमधुर भएन । कर्मचारीमा गुटबन्दी चुलियो । मेयरले नरुचाएका पराजुली मेचीनगर छाडेर गए ।

त्यसपछि आउनु भएको थियो टेककुमार रेग्मी । भद्रपुर नगरपालिकाबाट आउनु भएको उहाँसँग ट्युनिङ मिल्ने चर्चा चलेको थियो सुरुमा । तर व्यवहारमा उल्टो नतिजा देखियो ।


नगरभित्र विकास निर्माणका अनेक समस्या छन् । कर्मचारीबीच एकता र सहकार्यको वातावरण छैन । रचनात्मक र आशा जगाउने नयाँ योजनाहरु आउन सकेका छैनन् । मुख्य कर्मचारी टिक्दैनन् । दिनैपिच्छे झगडा र बेमेलका खबर नगरभवनबाट उब्जिरहन्छ । 

आखिर यस्तो स्थितिको समाधानका लागि मेयर बुढाथोकीले किन सही निर्णय लिन सक्नुहुन्न ? मेयर आफै पनि कर्मचारीले काम गर्न दिएनन् भन्नुहुन्छ । कहिले एउटा र कहिले अर्को कर्मचारीमाथि दोष थोपरेर उहाँ आफु चोखो भएको देखाउन खोज्नुहुन्छ । 

नगरपालिकाको मेयर जस्तो शक्तिशाली पदमा बसेको स्थानीय सरकार प्रमुखले यस्तो निरीहता र लाचारीपन देखाउन पटक्कै सुहाउँदैन । उहाँले आफुले समन्वयात्मक भूमिका निर्वाह गर्नु पर्ने हो । तर, अब उहाँ त कर्मचारीहरुसँगै पौठेजोरी खेल्न र झगडामा उत्रिन थाल्नु भएको छ । यसो गर्दा मेयर पदको गरिमा बाँकी रहेन ।

कर्मचारीको कसरी व्यवस्थापन गर्ने हो, त्यो निर्णय गर्न उहाँलाई कसले छेक्छ ? कुन कानून कस्तो बनाउनु पर्ने हो, उहाँलाई कार्यपालिकामा कसले छेक्छ र ? कुन योजना ल्याउँदा नगरले विकास र निर्माणमा फड्को मार्छ, त्यो निर्णय गर्न उहाँलाई कसले रोक्छ र ? वास्तवमा मेयर लाचार देखिनु हुन्छ । उहाँको निर्णय क्षमतामा प्रश्न उठिसकेको छ ।

मेयर बुढाथोकी यसअघि प्रदेशको सांसद् हुनुहुन्थ्यो । स्वच्छ छवी र संगठकको रुपमा उहाँको नाम आम नगरबासीमा चम्किएको थियो । श्रमजीवी र भुइँमान्छेको पृष्ठभूमिबाट उठेको उहाँको राजनीतिक व्यक्तित्व निकै लोभलाग्दो थियो । तर, मेयर भए यताको एक वर्षमै आफ्नो छवी र व्यक्तित्वलाई कमजोर बनाइसक्नु भएको छ ।

कार्यकारी पनि अराजक


प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी बिगतदेखि नै अराजक भएको देखिन्छ ।

मेचीनगरमा विगतमा विवादै विवाद भएको अवगत भएपछि रेग्मीले मेचीनगरको बिग्रिएको अवस्था फेर्ने अवसर आएको ठानेर मेयरसँग सहकार्यको गतिविधि अघि बढाउनु पथ्र्यो ।

तर, उहाँ मेयरको पदीय गरिमाको समेत अपमान गर्दै बैठकमै मुख छाडेर मानमर्दन गर्ने तल्लो स्तरमा ओर्लिनुभयो । जसले उहाँलाई पनि क्षति गर्यो । प्रहरीको सुरक्षा घेरमा बसेर कार्यालयबाट बाहिरिनु पर्ने अवस्थामा पुर्यायो ।

कार्यकारी अधिकृत रेग्मी यसअघि पनि भद्रपुर र उर्लाबारीमा आफ्नो छुचो बोली र अराजक व्यवहारका कारण विवादमा परिसक्नु भएको थियो । भद्रपुरमा जीवनकुमार श्रेष्ठ र उर्लाबारीमा खड्ग फागोसँग उहाँको झगडा मेचीनगरमा जस्तै भएको थियो । 

मेचीनगरमा ढुंगाबालुवाको ठेक्का लिनु भएको दमकका निर्माण व्यवसायी राजकुमार थापासँगको विवाद पनि असामान्य बन्न पुग्यो । उहाँले पत्रकारले झै थापासँगको भनाभनलाई अन्तरवार्ता लिएको जस्तो गरी आफैले भिडियो रेकर्डिङ गर्नु भएको थियो ।

कार्यकारी अधिकृतले त सेवाग्राहीलाई आफ्नो कार्यकक्षमा बोलाएर राम्रो मुख र व्यवहारले कुरा सुनिदिनु पर्ने हो । उहाँ आफै सडकमा ओर्लिएर सेवाग्राहीलाई उत्तेजित पार्ने कार्यमा उद्यत हुनु अराजकताको पराकाष्ठा हो । निर्माण व्यवसायी हुन् या जो कोही, उहाँले सेवाग्राहीको रुपमा सत्कारपूर्ण व्यवहार दर्शाउनु पर्छ । भाषणबाजी, गुटबन्दी र मुख छाड्ने कार्य उहाँका लज्जास्पद अवगुण हुन् । सरकारी कर्मचारीले जनप्रतिनिधिले बनाएको नीति र योजनालाई कार्वान्वयन गर्ने हो । उहाँ त आफै मेयर जस्तो व्यवहार देखाउन थाल्नुहुँदोरहेछ ।

मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत रेग्मीको अराजक र मेयर बुढाथोकीको लाचार प्रवृत्तिका कारण नगरबासीले अनावश्यक रुपमा सास्ती र हैरानी खेप्नु परिरहेको छ ।