३० वैशाख २०८१, आइतवार

नेत्रहीनहरुको सहयोगार्थ ‘अँध्यारोमा खानपिन’ कार्यक्रम

२२ पुष २०८०, आइतवार
Image

झापा, २२ पुस । झापा नेत्रहीन संघले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सहयोग जुटाएको छ ।

विर्तामोडको सिटी सेन्टरमा शनिवार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा र व्यवसायीहरुले रु. सात सय शुल्क तिरेर प्रवेश टिकट खरिद गरेका थिए ।

सहभागीहरुलाई अँध्यारोमा राखेर खानपिन गराइएको उक्त कार्यक्रम कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा सांसद् एकराज कार्कीले आँखामा पट्टी बाँधेर सेतो छडीमा हिँडेर उद्घाटन गर्नुभएको थियो ।

दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुले कसरी समस्या भोगिरहेका हुन्छन् भनेर अनुभूति गराउन एकछिन भए पनि प्रमुख अतिथि सांसद् कार्कीलाई सेतो छडीको सहारामा आँखा छोपेर हिँड्न लगाइएको नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनालले बताउनुभयो ।

देशभरका हजारौं दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुले दया होइन अवसर खोजिरहेको उहाँले बताउनुभयो । उच्च शिक्षा र प्राविधिक शिप प्राप्त उनीहरुलाई रोजगारीको दिएर क्षमताको प्रयोग गर्ने अवसर प्रदान गर्न स्थानीय सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरुले खानपिनका लागि तिरेको शुल्कले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुको शिक्षाका लागि रेकर्डिङ स्टुडियो सञ्चालनमा खर्च गरिने झापा नेत्रहीन संघका सचिव दिलकुमार राजबंशीले बताउनुभयो । 

स्वास्थ्यकर्मी बिनोद दाहालले ‘अँध्यारोमा खानपिन’ कार्यक्रम नेपालमा पहिलोपल्ट देख्न पाएको बताउनुभयो । विदेशमा सामाजिक संस्थाहरुले आयोजना गरेको यस्तै कार्यक्रममा सहभागिताको अनुभव रहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय कलाकार रमेश प्रसाई र डम्बर नेपालीले सांगीतिक प्रस्तुति दिनु भएको थियो । दृष्टि अपांगता भएका स्थानीय कलाकारहरुले पनि उक्त अवसरमा गीत र मुक्तक सुनाउनु भएको थियो ।

झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत भोजकुमार तामाङले गर्नु भएको थियो । कार्यक्रममा मेची आँखा अस्पतालका अमित कुमार सिंह र दृष्टि आँखा अस्पतालका अजित कुमार ठाकुरले आँखा सम्बन्धी सचेतनामूलक जानकारी गराउनु भएको थियो ।