१६ वैशाख २०८१, आइतवार

अहिले भर्खरै

होटल सञ्चालन गर्न दिन अदालतको अल्पकालीन अन्तरिम आदेश

६ फागुन २०८०, आइतवार
Image

मेचीनगर, ६ फागुन । उच्च अदालत बिराटनगरले काँकरभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा आज अल्पकालीन आदेश जारी गर्दै व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिन  भनेको छ ।

अदालतका न्यायाधीश किरण पौडेलले आज उक्त आदेश जारी गर्नु भएको हो ।

व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिनु भएको थियो । 

सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठ र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि मध्यस्थता गर्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा गठन गरेको समितिले हाल होटलमा तालाबन्दी गरेको छ ।

सोही विषयमा घरधनी विष्णुमाया श्रेष्ठलाई विपक्षी बनाएर परमादेश र निषेधाज्ञा माग्दै व्यवसायी देवीभक्त श्रेष्ठ अदालत जानु भएको थियो । 

अदालतले मुद्धाका दुबै पक्षलाई छलफलका लागि बोलाउँदै यही फागुन १३ गते पेशी तोकेको छ । उक्त छलफल नहुञ्जेलसम्मका लागि रीट निवेदक श्रेष्ठलाई होटल चलाउन दिन अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

अदालतले निवेदकको माग बमोजिम परामादेश र निषेधाज्ञा जारी किन नगर्ने भनेर घरधनी दिलमाया श्रेष्ठलाई १५ दिनभित्र अदालतमा जवाफ पेश गर्न समेत आदेश जारी गरेको छ ।