१६ वैशाख २०८१, आइतवार

झापाबाट काठमाडौं जाने रात्रिबसमा सुरु भयो एकद्वार प्रणाली

२ चैत २०८०, शुक्रवार
Image

झापा, २ चैत  पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टा लगायत झापाका एक दर्जन स्थानबाट काठमाडौं यात्रु बोक्ने रात्रिबसका सञ्चालकहरुले   बिहिवारदेखि संयुक्त बुकिङ काउन्टर राखेर एकद्वार प्रणाली सुरु गरेका छन् ।

एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीहरुको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा बढेको जनाउँदै यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली सुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले बताउनुभयो ।

उहाँका अनुसार झापाका मुख्य चार वटा यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात व्यवस्थापन समितिमार्फत चैत १ गतेदेखि काठमाडौं जाने रात्रिबस सेवामा एकद्वार प्रणाली लागू गरिएको हो । पहिलो दिन बिहीवार काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, बुधवारे र विर्तामोडका २० वटा यात्रुवाहक रात्रिबस संयुक्त बुकिङ काउन्टरमार्फत यात्रु बोकेर काठमाडौ गए । 

संयुक्त व्यवस्थापन समितिमा आवद्ध भएका कम्पनीहरुमा पूर्वी मेची बस व्यवसायी प्रालि, पूर्वी हिमाल यातायात प्रालि, मेची यातायात एन्ड अटो प्रालि र मेची सुपर यातायात प्रालि रहेका छन् । काठमाडौंमा रहेका अन्य कम्पनीहरु समेत एकद्वार प्रणालीमा आउने तयारीमा रहेको उहाँले दावी गर्नुभयो ।

यो प्रणाली लागू भएपछि यात्रुले जुनसुकै बसको पनि एउटै काउन्टरबाट टिकट काट्न पाउनेछन् भने यातायात व्यवसायीले आफ्ना गाडीहरु पूर्वनिर्धारित आलोपालो मिलाए बमोजिम सञ्चालन गर्नु पर्नेछ । आलोपालोका लागि गाडीहरु संयुक्त व्यवस्थापन समितिमा आवद्ध भएको हुनुपर्ने छ ।

मेचीनगर यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले एकद्वार प्रणालीमार्फत एउटै बुकिङ काउन्टरबाट यात्रुले बिना झञ्झट सेवा पाउने सुरुवातले यातायात क्षेत्रमा व्याप्त बिचौलिया विकृति र बेथितिको अन्त्य हुने बताउनुभयो । 

“हामी यात्रुहरुको तानातान नहोस् र अस्वस्थ प्रतिष्पर्धाको अन्त्य होस् भन्ने चाहन्छौं,” उहाँ भन्नुहुन्छ–“हिजो सिन्डिकेट प्रथा भनेर संयुक्त समिति नै खारेज गराइयो । यो सिन्डिकेट होइन, यातायातलाई सही ढंगले व्यवस्थापन गर्ने आलोपालो पद्धति हो । यसबाट यात्रुलाई झन् सुविधा हुन्छ ।”

दर्जनौं संख्यामा खुलेका बुकिङ काउन्टरका प्रतिनिधिले बसपार्कमै गएर यात्रु तानातान गर्ने विकृतिका कारण पूर्वीनाका नै बद्नाम भइरहेको जनाउँदै यातायातलाई चुस्त र मर्यादित आफै बनाउँछौं भनेर व्यवसायीहरु लाग्नु स्वागतयोग्य कार्य भएको उहाँको भनाई छ ।

झापाको सबैभन्दा धेरै व्यवसायी र सवारी साधन भएको पूर्व मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्त व्यवस्थापन गरेर आलोपालो प्रणालीमा जाने व्यवसायीहरुको कदमलाई सरकार, स्थानीय प्रशासन र नागरिक तहबाट सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

“पहिलो चरणमा रात्रिबसहरुबाट यो प्रणालीको प्रयोग गरिएको हो,” संयुक्त यातायात व्यवस्थापन समितिको रुट निर्धारण संयोजक समेत रहनु भएको श्रेष्ठले भन्नुभयो–“चारैवटा यातायात कम्पनीका साझा बुकिङ काउन्टर सञ्चालन भइसकेका छन् । काउन्टर रहने स्थान र कर्मचारी समेत निश्चित गरिसकेका छौं । यात्रु र गाडीको चाप हेरेर वैज्ञानिक ढंगले आलोपालो मिलाउँछौं ।”

यातायात क्षेत्रमा निजी क्षेत्रको पहलमा एकद्वार प्रणाली लागू गरिएकोमा सरोकारवाला अन्य व्यवसायीहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले यात्रु र सवारी साधन बढ्दै गए पनि उचित व्यवस्थापन हुन नसकिरहेको अवस्थामा एकद्वार प्रणाली आउनु सराहनीय भएको बताउनुभयो ।

पर्यटन व्यवसायी नीरबहादुर कार्कीले यात्रुहरुलाई गाडी छान्ने स्वतन्त्रता हनन गरिन नहुने जनाउँदै पुरानै गाडीमा जबर्जस्ती टिकट काट्न बाध्य पार्ने अवस्था ल्याउन नहुने बताउनुभयो । 

मुलुककै ठूलो यातायात सञ्जाल भएको तत्कालीन मेची बस व्यवसायी संघले दशवर्ष अघिसम्म राजधानी जाने रात्रिबसहरुको एकद्वार प्रणाली सञ्चालन गर्दै आएको थियो । तर, त्यसको चर्को विरोध भएपछि एकद्वार प्रणाली सरकारले खारेज गरेको थियो । तर, अहिले व्यवसायीहरु नै एकद्वार प्रणालीको आवश्यकतामा जोड दिइरहेका छन् ।