१९ वैशाख २०८१, बुधवार

किच्चकवध उत्खननः पाँच भवनको संरचना भेटिएको पुष्टि

१८ चैत २०८०, आइतवार
Image

झापा, १८ चैत । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबधमा दुई हजार दुई सय बर्ष पुराना पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ । 

महाभारतकालीन किंबदन्ती अनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानमा पुरातत्व विभागले वि.सं. २०५८ सालदेखि हालसम्ममा सातौं पटक  उत्खनन गर्दा सो कुरा पुष्टि भएको परातत्वविद् उद्धव आचार्यले बताउनुभयो ।  

उहाँले सातौं पटकसम्मको उत्खननमा उत्तरपूर्वमा एउटा बहुतले ठुलो भवन, ठूलो भवनकै केही दक्षिण अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको राससलाई जानकारी दिनुभयो ।

उहाँले चार वटै भवनको दक्षिणमा करिब दुई सय फुटको दुरीमा दुई तले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनको संरचना फेला परेको बताउनुभयो । सुरुदेखि नै आचार्यकै नेतृत्वमा उत्खनन कार्य भइरहेको छ ।

उहाँका अनुसार यस क्षेत्रमा पाचौं शताब्दीमा आएको शक्तिशाली भुकम्पले सबै भवन ध्वस्त भएकोले खण्डहरमा परिणत भएको अनुमान फ्रेन्च भुगर्भविदसहितको एउटा टोलीले केही बर्ष अघिको अध्ययन भ्रमणमा गरेको थियो ।

पुरातत्वविद आचार्यले यस स्थलको मूल भवनको उत्खनन् अर्को साल पुरा हुने बताउँदै भन्नुभयो, “सायद अर्को सालसम्ममा उत्खनन कार्य सकिन्छ भन्ने अपेक्षा छ । अझ गहिरोसम्म उत्खनन गर्दा यस स्थानको एतिहासिकता बुद्धकाल भन्दा अगाडि जाने संकेत पाइएको छ ।”

उहाँले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरु भएकोले यी सबै रुख हटाउनु पर्ने, अहिले कायमै रहेको क्लबको हल हटाउनु पर्ने, पुरानो किच्चवधको मुर्ति स्थानान्तरण गर्नु पर्ने, किचकबधस्थल भित्र सवारी साधन प्रवेशमा कडाई गर्नुपर्ने र संरक्षित ऐतिहासिक संरचनाको पनि संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

यस स्थलमा २०५८ सालमा पहिलो पटक उत्खनन पुरातत्व विभागले पुरातत्वविद आचार्यकै नेतृत्वमा गराएको थियो । यो पटक सातौं उतखनन् हो । यो उत्खनन आजसम्म मात्र गरिने र एक दुई दिन यस क्षेत्रलाई प्लाष्टिक छोपेर त्यसमाथि माटोले पुर्न लाग्ने भएकोले अहिलेको उत्खनन् टोली चैत २४ भित्र फर्कने पुरातत्व अधिकृत नविन अधिकारीले बताउनुभयो ।  

यसअघि २०३५ सालमा मेची क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाईमा इतिहासका विद्यार्थीले उत्खनन गरेको मेची क्याम्पसका पूर्व प्रमुख चिन्तामणि दाहालले बताउनुभयो । त्यसवेला पुराना माटाका भाँडा, ठूला आकारका लुम्बिनीमा पाइएका जस्ता चेप्टा इंटालगायतका पुरातात्विक सामग्री फेला पारेका थिए । यो उत्खननको समाचार त्यसवेलाको गोरखा पत्रमा छापिएपछि किच्कबधस्थलमा पुरातत्व विभागको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।