१८ वैशाख २०८१, मङ्गलवार

कनकाईमा प्लास्टिक पेवर्स उत्पादन सुरु

२० चैत २०८०, मङ्गलवार
Image

झापा, २० चैत । कनकाई नगरपालिकामा फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक (पेवर्स) उत्पादन सुरु गरेको छ । 

स्थानीय सरकार तथा निजी लगानी रहेको सो ऊर्जा परियोजनाले दैनिक दुई हजार थान पेवर्स उत्पादन गर्ने गरी परीक्षण उत्पादन सुरु गरेको हो । प्लास्टिक ब्लक मेकिङ मेसिन रु एक करोड ७१ लाखको लागतमा ल्याइएको परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिनुभयो ।

उहाँले सो मेसिनबाट दैनिक १० जनशक्तिको प्रयोग गरी २४ घण्टा नै पेवर्स उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले परीक्षणकालीन समय एक हप्ताका लागि भएको बताउनुभयो । भारतबाट ल्याइएको स्वचालित मेसिनले बालुवा र प्लास्टिकको मिश्रण आफँै मिलाउने उहाँको भनाइ छ । 

पहिलो चरणमा प्लास्टिकलाई टुक्र्याएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने र लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने गरेको ब्लकको भार क्षमता ८० टन रहेको इ अलीले बताउनुभयो । मर्मत राम्रो भएमा वर्षौंसम्म ब्लकले काम गर्ने उहाँको भनाइ छ ।

प्लास्टिक र बालुवाबाट निर्मित ब्लकको मूल्य प्रतिगोटा रु १२ रहेको छ । उहाँले भन्नुभयो, “सिमेन्टबाट निर्मित ब्लकको मूल्यभन्दा झन्डै आधा खर्चमा पाइन्छ । यस ब्लकबाट सडकदेखि घर कम्पाउन्ड निर्माण प्रयोग गर्न सकिन्छ ।”

दैनिक दुई हजार ब्लक उत्पादन गर्न चार टन प्लास्टिक चाहिने ऊर्जा परियोजनाले जनाएको छ । उहाँका अनुसार हाल दैनिक डेढ टन प्लास्टिक मात्र परियोजनामा सङ्कलन हुने गरेको छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण भएको हो । बायोग्यास उत्पादन भइरहे पनि त्यसको बिक्री हुन नसकिरहेको परियोजनाले जनाएको छ ।

परियोजना कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको रु २२ करोड लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि बायोग्यास प्लान्ट निर्माण गरिएको थियो ।