६ जेठ २०८१, आइतवार

कोशीका चार जिल्लामा सहाराको गोठ तथा नश्ल सुधार अभियान

२४ वैशाख २०८१, सोमवार
Image

झापा, २४ बैशाख ।  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानहरुलाई सहयोग पुर्याउने लक्ष्यका साथ कोशी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ । 

झापाको विर्तामोडमा रहेको संस्थाले झापा, मोरङ, इलाम उदयपुरका किसानहरुलाई समूहमा संगठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारिकरणमा सहयोग प्रदान गर्दै आएको छ ।

सहाराका पाँच हजार सदस्यलाई उद्यमी बनाउने उद्देश्य राखेर गाई, बाख्रा, सुँगुर र कुखुरा फार्म सञ्चालन गर्न अभियानमा जोडिएको र यसवर्ष ७०० किसानलाई बाख्रापालक उद्यमी बनाइएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो ।

“परम्परागत ढंगले गरिएको पशुपालनले खासै फाइदा हुँदैन भनेर हामीले किसानहरुलाई बुझाउँछौं,” उहाँले भन्नुभयो–“सदस्यहरुको समूह बनाएर गोठदेखि बजारसम्म सबै प्रकारको सहयोग पुर्याउँदै आएका छौं ।” गाई फार्म र बाख्रापालनमा आवद्ध किसानको घरदैलोमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

बाख्राको नश्ल सुधारका लागि यसै साता झापाको दुई, मोरङ र इलामका एक एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण गरिएको संस्थाको कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो ।

सिरोही र पोटा जातको बोका किसानलाई दिइएको हो । मोरडंको केरावारीस्थित लगनशील सहारा कृषक समूह, इलामको दानावारीस्थित विहीबारे सहारा कृषक समूह, झापाको गोलधापस्थित देउराली सहारा कृषक समूह र झापाकै बुधबारेस्थित सृजनशील सहारा कृषक समूहलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका शेयर सदस्यहरुलाई लक्षित गरेर गोठ बनाइदिने र रोग प्रतिरोधक भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउने कार्य भइरहेको समेत संयोजक ओलीले बताउनुभयो ।

सहाराको कार्यक्षेत्र रहेको कोशी प्रदेशको छ वटा जिल्लामा बाख्रापालक किसानहरुको ४४ वटा समूह बनाइएको र उनीहरुलाई कर्जादेखि बजार पहिचान गर्नेसम्मको सहयोग र सुविधा उपलब्ध गराइएको संस्थाका पशु चिकित्सक डा. कमलेश्वर भाटले बताउनुभयो । 

गाईपालक र बाख्रापालक किसानहरुलाई परामर्श सेवा प्रदान गर्नका लागि संस्थाले नेदरल्यान्डबाट पशुविज्ञ चिकित्सक ल्याएको डा. भाटले जानकारी दिनुभयो । नेदरल्यान्डबाट आउनु भएको डा. गेरेट टेकनसहितको पशुविज्ञ टोलीले झापा र इलामका किसानको गोठ गोठमा पुगेर अनुगमन गरेको थियो ।  

“कतिपय किसानको गोठमा खसीबाख्रा भकाभक मर्न थालेको समस्या थियो,” उहाँले भन्नुभयो–“नेदरल्यान्डबाट आएका पशुविज्ञले गोठहरुको अनुगमन गरेर समस्याको पहिचान र समाधान गर्नुभयो । यसबाट किसानहरुले पशुपालनको विश्वस्तरीय ज्ञान प्राप्त गर्न पाउनुभयो ।”

बुद्धशान्ति–५ का खगेन्द्र गौतमको बाख्रा गोठमा एकैपटक ४० वटा बाख्रा गत चैतमा मरेका थिए । नेदरल्यान्डका पशुविज्ञ डा. टेकनले उक्त गोठको अनुगमन गरी किसानसँग समस्याका बारेमा छलफल गर्नु भएको थियो ।

पशुविज्ञ टोलीले बाख्रापालनमा गोठ, आहार र नश्लसुधारमा उन्नत तरिका अपनाउन सुझाव दिएको थियो । टोलीले बाख्राले खाँदै आएको घाँस र दानाको समेत अध्ययन गरेको थियो ।

गाईपालनका बारेमा डा. टेकनले सिमेन्टको पक्की भुइँमा भन्दा खुला माटोमा बस्न दिदा राम्रो हुने सुझाव दिनुभएको उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो ।

टोलीले शिवसताक्षी नगरपालिकाको बिन्दबासिनी गाई फार्म र मेचीनगरको कुबेर बाख्रा फार्मको अनुगमन गरी किसानहरुलाई गोठसुधारका लागि आवश्यक परामर्श दिएको थियो ।

पशुपालनमा गोठ सुधार र नश्ल सुधारसँगै आहार र स्याहारको समेत उचित व्यवस्थापन मिलाउनु पर्ने सहाराका बालीविज्ञ राजेन्द्र खरेल बताउनुहुन्छ । संस्थाका तर्फबाट खरेलले किसानहरुलाई कृषिसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आउनु भएको छ ।