७ जेठ २०८१, सोमवार

ओमसाई पाथिभरा हस्पिटलद्वारा चार सय आमा सम्मानित

२६ वैशाख २०८१, बुधवार
Image

भद्रपुर, २६ बैशाख । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने पर्वको अवसरमा ओमसाई पाथिभरा हस्पिटलले चार सयभन्दा बढी वृद्धाहरुलाई आज सम्मान गरेको छ ।

सम्मान ग्रहणका लागि विभिन्न क्षेत्रबाट आउनु भएको आमाहरुको भीडले भद्रपुर–८ स्थित हस्पिटलका अध्यक्ष दिपक पोखरेलको निवास आज दिनभरि खचाखच थियो ।

हस्पिटलका अध्यक्ष दिपक पोखरेल र प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) लगायतले आमाहरुलाई साडी र नगद प्रदान गर्दै भोजन गराउनु भएको थियो । 

हस्पिटलले आमाको मुख हेर्ने पर्वका दिन यसरी ज्येष्ठ महिलाहरुलाई ठूलो संख्यामा सम्मान गरेको यो तेस्रोपटक भएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो ।

“आमाभन्दा ठूलो यस धरतीमा कोही पनि छैन,” अध्यक्ष पोखरेलले कार्यक्रम बारे जानकारी दिदै भन्नुभयो–“आज समाजमा कैयन बाबुआमाहरु बुढेसकालमा अपहेलित र एक्लो जीवन बिताउन बाध्य छन् । हामीले सबै आमाहरुलाई एकैठाउँमा भेला गराएर सम्मान दिदा उहाँहरु खुशी हुन्छ भनेर यस्तो कार्यक्रमको सोच बनाएका हौं ।”

भद्रपुर नगरपालिका वडा नं. ३ की १०५ वर्षीया रत्नमाया मगरले सम्मान पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँलाई लिएर वडाका अध्यक्ष हेमबहादुर कार्की नै पोखरेल निवासमा आउनु भएको थियो । 

सम्मान कार्यक्रममा भजन कीर्तन समेत गरिएको थियो । सम्मानित आमाहरुलाई घरबाट ल्याउने र पुर्याउने गाडीको व्यवस्था हस्पिटलका तर्फबाटै गरिएको हस्पिटलका प्रबन्ध निर्देशक साइराम पोखरेलले बताउनुभयो ।

कार्यक्रममा हस्पिटलका चिकित्सक र नर्सहरुको समेत सहभागिता रहेको थियो । सम्मान ग्रहण गर्न आउनु भएका आमाहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको व्यवस्थापक मनोज दाहालले बताउनुभयो ।