६ मंसिर २०८१, बिहिवार

‘मूर्तिको पसिना’ले ‘अनिष्ट निम्त्याउने’ अन्धविश्वास

५ साउन २०८१, शनिवार
Image

झापा, ५ साउन । दोलखाको भीमसेन मन्दिर जनविश्वासका दृष्टिले प्रसिद्ध छ । त्यहाँ पूजापाठ र दर्शनका लागि वर्षेनी हजारौं मानिस पुग्छन् । त्यहाँको मूर्तिमा बेलाबेला पसिना आएको खबर फैलिन्छ । आज फेरि त्यहाँको भगवानको मूर्तिमा पसिना निस्किएको खबर आइरहेको छ ।

हरेक मन्दिर र मूर्तिका पछाडि दह्रो जनविश्वास र परम्परा जोडिएको हुन्छ । तर, भीमसेन मन्दिरको शिला (मूर्ति)मा देखिने तरल पदार्थ पसिना नै हो भन्ने अनुसन्धान भने भएको छैन । त्यहाँ निस्किने तरल पदार्थलाई पसिना मानिने गरेको हो ।

भीमसेनको शिलामा पसिना आएको घटनालाई मुलुकमा अनिष्ट आउन लागेको भनेर धर्मका गुरुहरुले व्याख्या गर्दै आएका छन् । पछिल्लोपटक २०७७ सालको मंसिरमा त्यहाँको शिलामा पसिना आएको थियो ।

अनिष्टको हल्ला 

हिन्दू धर्मशास्त्रका ज्ञाता प्रा.डा. माधवप्रसाद भट्टराई भीमसेन शिलामा पसिना आएको घटनाले ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपद्, युद्ध र दुःखदायी घटनाको पूर्वसंकेत भएको दावी गर्नुहुन्छ ।

आजको समेत गरी उक्त शिलामा २० औं पटक पसिना आइसकेको छ । पछिल्लो कालखण्डमा वि. सं. १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६ र २०५७ सालमा पनि भीमसेनको मूर्तिमा पसिना आएको उहाँको दावी छ ।

मुलुक परिवर्तनशील छ । प्रकृति परिवर्तनशील छ । समाज पनि गतिशील छ । देशको कानून र व्यवस्था पनि परिवर्तनशील नै हुन्छ । यी परिवर्तनका लागि मूर्तिमा पसिना आइरहनै पर्दैन ।

नेपाल विश्वको भूकम्पीय जोखिका दृष्टिले ११ औं जोखिम भएको मुलुकमा पर्दछ भने चट्याङ, बाढी र पहिरो वर्षेनी नेपालमा आइरहन्छ । कुनै वर्ष धेरै होला, कुनै वर्ष कम होला । जहाज दुर्घटना हुने, बस पल्टिने जस्ता घटना नेपालमा मात्र होइन, विश्वभरि भइरहेका हुन्छन् । 

प्राकृतिक विपत्ति निम्तिनका लागि भीमसेनको शिलामा पसिना आइरहनै पर्दैन । वैज्ञानिक र मौसमविद्हरुले नै हरेक वर्ष भविष्यवाणी गरिरहेकै छन् । तर, नेपालमा मूर्तिमा पसिना आउनु र विपद् आउनु संयोग मात्र हो । त्यसको वैज्ञानिक साइनो पुष्टि भएको छैन ।

१९९० सालमा पनि पसिना आएको थियो र ठूलो भुइँचालो आएको थियो भन्ने हल्लामा विश्वास गरिन्छ । १९९७, २००७, २०१७, २०३६, २०४६ र २०५७ सालमा पनि पसिना आएको थियो । तर भुइँचालो आएको थिएन । मानिसहरु पसिनासँगै अनिष्ट आएको अन्धविश्वास पुष्टि गर्न अरु नै घटना खोज्ने गर्छन् ।     

भौतिकशास्त्री वैज्ञानिक डा. विनोद अधिकारी दोलखाका भीमसेन शिलाको बारेमा लामो समयदेखि अन्धविश्वास व्याप्त रहेको बताउनुहुन्छ । 

दोलखा भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुन्छ भन्ने भ्रमलाई चाँडोभन्दा चाँडो तोड्नुपर्ने उनी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘धर्मको कुरा, भगवानको कुरा आफ्नो ठाउँमा छ, तर मूर्तिलाई पसिना आउँदा विपत्ति आउँछ भन्ने कुरा विज्ञानको युगमा विश्वास गर्न सकिन्न र गर्नु पनि हुँदैन ।’

पृथ्वीको सतहमुनि भएको ताप कुनै तरिकाले लिकेज भएर मूर्तिबाट पानी रसाएको हुन सक्ने उनको आँकलन छ । यद्यपि, निस्कर्षमा पुग्न भने वैज्ञानिक अनुसन्धान नै गर्नुपर्ने उनको मत छ ।

भीमसेन मन्दिरको धार्मिक महत्त्व

काठमाडौंबाट करिब १४० किलोमिटर टाढा रहेको दोलखा सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ भिमेश्वर मन्दिर अवस्थित छ । सो मन्दिरभित्र रहेको भीमसेनको मूर्ति दोलखा भीमसेनका नामले चर्चित बनेको हो ।

चिल्लो खरीको प्रस्तरबाट बनेको उक्त शिलामूर्ति त्रिभुजाकार छ । यसलाई भिमेश्वर, भीमसेन वा भैरवको रुपमा पनि पुजिन्छ । भिनसेन पाँच पाण्डवमध्येका माहिला भाइ हुन् । महाभारत युद्धमा महत्वपूर्ण भूमिका खेलेका उनी साहसी र पराक्रमी योद्धाका रुपमा चिनिन्छन् ।

भीमसेनलाई भगवान शिवकै अवतारको रुपमा समेत मान्ने गरिएको छ । त्यसैले यहाँ पशुपतिको रुपमा रुद्री पूजा गर्ने गरिएको छ । साथै, भीमसेन, भैरवको रुपमा बलीपूजा समेत गरिन्छ । यो प्रचलन कहिलेदेखि चलिआएको भन्ने यकिन छैन । बलीपूजाको बेला महादेव शिव चुडामणिमा (दोलखा भीमसेन चुडामणी) गएर बस्नुहुन्छ र भीमसेन भैरवले मात्र बलीपूजा गर्नुहुन्छ भन्ने मान्यता छ ।

भीमसेनलाई व्यापारीको इष्टदेवताको रुपमा समेत पुजिँदै आएको छ । सो मन्दिरमा पूजा गर्दा व्यवसायमा विघ्न–बाधा हट्ने र सफलता प्राप्त गर्न सकिने मान्यता छ । यहाँ भीमसेनको सामान्यदेखि ठूला पञ्चवलीका पूजासमेत गरिन्छ ।

पाँच पाण्डव एक वर्ष गुप्तबास बस्ने समयमा मन्दिर नजिकै बसेर गौरीशंकरको प्रार्थना गरेको किम्बदन्तीसमेत छ । त्यस समय पाँच पाण्डवले प्रयोग गरेको सांकेतिक भाषा नै दोलखाका नेवार समुदायको स्थानीय भाषा भएको बताइन्छ ।

यो भीमेश्वर भीमसेनको मूर्ति कहिले र कसले स्थापना गरेको हो भन्ने तथ्य पत्ता लागेको छैन । भीमसेनको मूर्तिसँगै उनकी आमा कुन्ती, पत्नी द्रौपदी, भाइहरु नकुल र सहदेवका शिलाहरु छन् । पाँच पाण्डवमध्येका युधिष्ठिर र अर्जुन भने यहाँ अनुपस्थित छन् ।

कसरी आउँछ पसिना

मन्दिरमा गुरुहरुले पसिना आएको प्रमाणित गरेपछि मिडियामा समेत खबर दिने गरिन्छ । पसिना आएको मूर्तिलाई अरुले छुन र फोटो–भिडियो खिच्न दिइँदैन ।

मन्दिरभित्र रहेको भीमसेनको शिला कालो र चिल्लो छ । पसिना आउने बेला यो अचानक फुस्रो र ओभानो बन्छ । अनि मूर्तिमा रहेका मसिना छिद्रहरुमा फोकाफोका पानी देखिन थाल्छ । पाखुरामा बीसीजीको सुई लगाउँदा डाबर आउँछ त्यस्तै । तप्प–तप्प चुहिएको हुँदैन, तर मूर्ति भिजेको स्पष्ट देखिन्छ । 

पसिना आएपछि तान्त्रिक विधिबाट बिस्तारै पुछेर सफा पारिन्छ । एकछिनपछि अर्को साइडमा पनि पसिना आउने गर्छ । पुछेपछि त्यो चिसोपन पुरै हराउँछ र शिला जस्ताको तस्तै हुन्छ । 

भीमसेनलाई पसिना आएको सन्देश तत्काल जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति कार्यालयमा पुर्याउने चलन छ । राष्ट्रपतिले साइत हेराएर क्षमापूजाको आयोजना गरिने प्रचलन छ ।

दोलखा भीमसेन एउटा सामान्य पत्थरको मूर्ति हो । पत्थर एउटा निर्जीव वस्तु भएकाले यसमा पसिना आउनु आफैंमा एउटा वैज्ञानिक खोजको विषय हुन सक्छ । तर, अहिलेसम्म सरकारी वा गैरसरकारी निकायबाट यसका लागि कुनै तत्परता देखाएको पाइँदैन । परम्परादेखि जे चलिआएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ ।