३० असोज २०८२, बिहिवार

बाढीले झापामा रु.पाँच करोडभन्दा बढीको धान नष्ट

३० असोज २०८२, बिहिवार
Image

झापा, ३० असोज । गत असोज १८ गतेदेखि २० गतेसम्म परको अविरल बर्षापछि आएको बाढीले ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । 

कृषि ज्ञान कार्यालय झापाका प्रमुख सागर विष्टले ७०३ कृषकको रु. पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धानमा बाढीले क्षति पुर्याएको बताउनुभयो । 

“बाढीले अन्य कृषिबालीमा पनि क्षति त गरेको छ तर धानमा जति अरुमा छैन”, उहाँले भन्नुभयो, “पाक्न लागेको धान बाढीले लैजाँदा किसानहरु विचल्लीमा छन् ।” बर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएर लगेको छ ।

बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको बताउनुभयो ।

उहाँले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिनुभयो । यो पालिकाको वडा नं. १,२ र ३ का ४३१ किसानको रु. पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु केरा क्षति भएको थियो ।