३ असोज २०८१, बिहिवार

भानु सहकारीको मुनाफा ७० लाख नाघ्यो, शेयर पनि बढ्यो

२९ भदौ २०८१, शनिवार
Image

मेचीनगर, २९ भदौ । मेचीनगरको भानु बहुमुखी सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७० लाख २३ हजार ३५७ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

संस्थाको शुक्रवार राधास्वामी सभाहलमा आयोजित २३ औं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोपालप्रसाद चुडालले उक्त आर्थिक वर्षमा शेयर पूँजी, बचत संकलन, कर्जा लगानी र कर्जा असुली सन्तोषजनक रहेको बताउनुभयो ।

उहाँका अनुसार संस्थाको शेयर पूँजी २०८१ असार मसान्तसम्ममा दुई करोड ५९ लाख ७८ हजार १०० रुपैयाँ पुगेको छ भने यस वर्ष ३६ लाख ८३ हजार ५०० रुपैयाँ शेयर वृद्धि भएको छ ।

कर्जा लगानी ११ करोड ४४ लाख ४१ हजार ५०० रुपैयाँ, कर्जा असुली १० करोड ३८ लाख १८ हजार ९५ रुपैयाँ, निक्षेप संकलन २८ करोड ८० लाख २६ हजार ४८० रुपैयाँ र मनी ट्रान्सफर व्यवसायबाट आम्दानी दुई लाख ५८ हजार ४५७ रुपैयाँ भएको अध्यक्ष चुडालको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले विभिन्न शिर्षकमा १८ लाख ७८ हजार ७३ रुपैयाँ उक्त आर्थिक वर्षमा राजस्व दाखिला गरेको समेत जनाइएको छ ।

२०५७ साल साउन ३२ गते २७ जना सदस्यले एक लाख ३५ हजार रुपैयाँ शेयर संकलन गरेर सुरु गरेको भानु बहुमुखी सहकारीले मेचीनगरको उत्कृष्ट एवम् सफल सहकारीको रुपमा परिचय बनाएको छ ।

संस्थाको पदाधिकारीहरुमा अध्यक्ष गोपालप्रसाल चुडाल, उपाध्यक्ष शंकर श्रेष्ठ, सचिव लक्ष्मी राई र कोषाध्यक्ष युवराज बाँस्तोला हुनुहुन्छ भने सञ्चालक समिति सदस्यमा शेखर गुरागाई, नविनकुमार नेपाल, उर्मिला पोखरेल, खड्गनारायण राजबंशी र उमा पाण्डे रहनु भएको छ ।

लेखा समितिमा संयोजक विश्वास भण्डारी र सदस्यमा नविन दाहाल र रुद्र बिष्ट हुनुहुन्छ । सल्लाहकार समितिको संयोजकमा लीलाबहादुर पाण्डे र सदस्यमा सुशिल आचार्य, भोजराज कोइराला, महेन्द्र पौडेल र होमनाथ न्यौपाने हुनुहुन्छ ।

संस्थाकी व्यवस्थापक चन्द्रकला सिटौलाले सहकारीको कुशलतापूर्वक प्रशासनिक नेतृत्व गरिरहनु भएको छ । संस्थाको प्रधान कार्यालय मेचीनगर वडा नं. १० धुलाबारीमा रहेको छ ।

संस्थाका अध्यक्ष चुडालको अध्यक्षतामा भएको साधारणसभामा लेखा समितिका संयोजक विश्वास भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिकाका अधिकृत दिपेन्द्र कार्कीले पानसमा दीप प्रज्ज्वलन गरेर गर्नु भएको थियो भने उक्त अवसरमा मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्य लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।