संस्मरण
संस्मरण
अहिले सम्झँदा– ती चेलीलाई परेको असजिलो ! अस्तिको दिन अर्थात् २४ गते बेलुका काठमाण्डौँ कोटेश्वरबाट आफ्नो घरको लागि मोरङ पथरीसम्मको टिकट लिएर रात्रिकालीन यात्रा आरम्भ गरेँ । कलंकी पुगेपछि चढेका ४/५ मध्ये मेरो सिटको पछिल्तिर एकजना महिला आउनुभयो । उमेरले मभन्दा पाको लाग्ने !
न्यु डाइमण्ड नामको गाडी तुलनात्मक रूपमा निकै राम्रो र सुविधासम्पन्न रहेछ । यसमा सँगसँगै बसेको पुरुष सहयात्रीसँग अलिअलि असजिलो माने झैँ गर्दै हुनुहुन्थ्यो । निदाएपछि के के भयो थाहा भएन । मध्यरातितिर लाहान छेउछाउ पुगेपछि अलिक चिच्याउँदै दाइ दाइ यो गाडी रोकाइदिनुस् न ! मानौँ केही घटना भए झैँ निकै छट्पटि पनि थियो उहाँमा यतिबेला ! निन्द्रा खुल्यो, झसङ्ग भएँ । किन ? के भयो र उहाँतिर हेर्दै प्रश्न गरेँ । अहँ, जवाफ आएन । शायद ! जवाफ दिन अफ्ठ्यारो लागेर होला ! असजिलो मान्नुभएको थियो होला !
एकले अर्कालाई ठम्याउन नै मुस्किल पर्ने वातावरणले आकर्षित घना बाक्लो अँध्यारो, पूरै हुस्सुले ढोकेको अवस्था । यहाँ एकान्त होला भनेर गुहारेको, अलिक सजिलो होला कि भनेर यहाँ रोक्न भनेको नि दाइ । असह्य भयो, मेरो त फुट्न लाग्यो ! कतिञ्जेल सहनु ! मलिन अनुहारमा पोखिनुभयो ।
कुन्नि ! कतिञ्जेलदेखि उहाँलाई पेशाव लागेको रहेछ । भन्न पनि असजिलो ! लाज र घीन मान्नुपर्ने– जहाँ पायो त्यहिँ पेशाव गर्न पनि असजिलो ! केहीबेर कराएपछि गाडी रोकियो । उहाँभन्दा पहिल्यै केही पुरुष यात्रीहरू एकपछि अर्को गर्दै झर्नुभयो । चेलीलाई फेरि फसाद ! ती पुरुष यात्रीको पछिपछि हिड्न पनि सकस भएको थियो उहाँलाई ।
कुरोको चुरो पक्ष बुझ्दै जाँदा बल्ल अनुभूति गर्न सकेँ– महिलालाई शौचादिको समस्या व्यक्त गर्न, समयअनुसार शौच गर्न, ठाउँमै पेशाव फेर्न पनि कति धेरै असजिलो ! तिनले नै जन्माएको पुरुषसँग नियमित हुने शारीरिक प्रक्रियालाई नियाल्न पनि लज्जित र त्रशित रहनुपर्ने ! अनुत्तरित प्रश्नमा अड्किएको कस्तो यो मनोविज्ञान !
बिडम्बना !
अझ सार्वजनिक यातायातमा त झन कति गाह्रो ! कति साह्रो ! निर्धक्क स्वयंले भन्न नसक्ने र अरुले पनि सहजरूपमा ग्रहण नगरिदिने प्रकृति आफैंमा कति धेरै अप्रिय र बडो अचम्मको छ यहाँ !
मलाई लाग्यो– गाडीको चालक, सहचालक र अधिकांश यात्री हामी पुरुष नै । तिनै महिलाले कष्ट र साधनाका साथ जन्माएका, हुर्काएका, बढाएका, कखरा पढाएका हामी पुरुष । हामीबाट नै तिनले लज्जित, सशंकित र त्रसित रहनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । यस्तो असजिलो बेलाबखतमा हामी सबैले सहयोगी बनिदिनुपर्छ, भरसक सहजीकरण गरिदिनुपर्छ । हामी प्रत्येक वर्णित अवर्णित व्यक्ति स्वयंमा प्रत्यक्ष परोक्ष सहजकर्ता बन्नुपर्छ ।