झापा, २ फागुन । सत्र वर्ष अघि बनाउन सुरु गरिएको झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गको रतुवा पुलको निर्माण कार्य बल्ल पूरा भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार पछिल्लोपटक वि.सं. २०७९ पुस १८ गते पुलको पुनःनिर्माण सुरु भएको थियो । त्यसबेलाको सम्झौता बमोजिम वि.संं. २०८२ असार मसान्तसम्म पुल बनिसक्नु पर्ने थियो ।
निर्माण कम्पनी देव एन्ड सायर÷समता÷आशिषदीप जेभीले रु.२२ करोड ३७ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
जे होस्, पुल बनेको छ । हुलाकी मार्गमा पर्ने ठूलोमध्येको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्दछ । त्यहीकारण पुल नबन्दा गाली ओलीप्रति नै लक्षित हुने गरेको थियो ।
पुलको पहिलो ठेक्का आर्थिक वर्ष २०६४–६५ मा लागेको थियो । कालिका–ओसिए जेभीले रु. १० करोड ३२ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ३४८ मिटर लम्बाई रहेको सो पुल २०४.८ मिटर मात्रै निर्माण गरेर निर्माण कम्पनी सम्पर्कविहीन भएको थियो ।
वर्षौसम्म खोलामा आधा भागमा पुल ठड्याएर रमिता बनाइए पछि यसको अपजस प्रधानमन्त्री ओलीले पाउनुभयो । उसबेला पुल नबन्नुमा बजेटको अभाव प्रमुख कारण थियो । निर्माण कम्पनीले पर्याप्त बजेट नभएका कारण पुल अधुरो रहेको प्रतिक्रिया दिने गरेका थिए ।
लामो अवधिपछि पुल निर्माण भएर सवारीसहित आवतजावत सुरु भएको छ । पुलको पहुँच मार्ग र तटबन्ध चाहिँ अझै पूर्ण भइसकेको छैन ।
यो पुल बनेसँगै गौरीगञ्जबाट मोरङको विराटनगर पुग्न पूर्वपश्चिम राजमार्ग अब धाइरहनु नपर्ने भएको छ । प्रधानमन्त्री ओलीले पनि पुल नबनेकै कारण गाली खेप्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।