अहिले भर्खरै
अहिले भर्खरै
झापा, ३ फागुन । मेचीनगर–१३ चारआलीमा बन क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको सब्जी बजार सुरक्षा बल प्रयोग गरी बन डिभिजन कार्यालय झापाले हटाएको छ ।
आज विहान बन डिभिजन कार्यालयका प्रमुख मेघराज राई आफै डोजर र बन रक्षकको टोली लिएर चारआली पुग्नु भएको थियो ।
बन अतिक्रमण गरी बनाइएको भन्दै उक्त बजारका १८ वटा अस्थायी संरचना (पसल) हटाइएको छ । अतिक्रमण हटाउन ठूलो संख्यामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको थियो ।
बन डिभिजन कार्यालयका प्रमुख राईले अतिक्रमण हटाउन जाँदा स्थानीयबासीले आफै टहरा हटाएको बताउनुभयो । “उहाँहरुलाई तीन पटक सार्वजनिक सूचना गरेर अतिक्रमित संरचना हटाउन आग्रह गरेका थियौं,” उहाँले भन्नुभयो–“दोहोरो छलफल समेत गरेका थियौं । बाध्य भएर आज हटाउन आउनु पर्यो ।”
राई नेतृत्वको बन डिभिजनको टोली सो स्थानमा पुग्दा स्थानीयबासीसँग केहीबेर नोकझोक भएको थियो । स्थानीयबासीले कम्तीमा सात दिनको म्याद दिएर आफुहरु हट्ने बताएका थिए । तर, बन डिभिजन प्रमुख राईले कुनै हालतमा अतिक्रमण हटाइने अडान लिनु भएपछि स्थानीयबासीले आफ्ना पसलका सामान निकालेर सुरक्षित ठाउँमा सारेका थिए ।