अहिले भर्खरै
अहिले भर्खरै
झापा, ३ फागुन । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले चारआलीको बन क्षेत्रमा सञ्चालित अतिक्रमण हटाउन दश दिनको म्याद दिनुपर्ने बताउनु भएको छ ।
मेचीनगर–१३ चारआलीमा बन क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको सब्जी बजार सुरक्षा बल प्रयोग गरी हटाउन आउँदा बन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईलाई आज नगरप्रमुख बुढाथोकीले उक्त आग्रह गर्नु भएको हो ।
पटकपटक सार्वजनिक सूचना जारी गर्दा समेत नहटेको जिकीर गर्दै बन डिभिजन प्रमुख राईले अब म्याद दिन नसकिने जवाफ दिनु भएको भयो ।
नगरप्रमुख बुढाथोकी र डिभिजन प्रमुख राईबीच यही विषयमा चारआलीमा केहीबेर गर्मागर्मी कुराकानी भएको थियो ।
“बसिरहेका व्यवसायीलाई वैकल्पिक स्थानमा राख्न केही समय त चाहिन्छ,” नगरप्रमुख बुढाथोकीको भनाई थियो–“व्यवसायीहरुले नगरपालिकामा आएर दश दिनभित्र हट्ने लिखित निवेदन दिएका छन् । जनतालाई हठात् लखेट्नु त भएन नि ।”
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओबादीका स्थानीय नेताहरुले पनि नगरप्रमुख बुढाथोकीको भनाईमा समर्थन जनाउँदै अर्को विकल्प दिएर संरचना हटाउन समय पाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।