१९ चैत २०८१, बुधवार

हाम्रो मेचीनगर

पूर्ण अपाङ्गता भएका क्षितिजले घरमै पाए नागरिकता

८ चैत २०८१, शनिवार
Image

झापा, ८ चैत । बोल्न र हिँडडुल गर्न असमर्थ पूर्ण अपाङ्गता भएका मेचीनगर नगरपालिका वडा नं. ३ का २१ वर्षीय क्षितिज राईले आज घरमै नागरिकता प्रमाणपत्र पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण अपांगता भएका व्यक्तिहरुको घरआँगनमै धाएर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजको नागरिकता बनेको हो । 

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष हर्क बस्नेतसहित सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहेका थिए । जन्मजात शारीरिक अशक्त रहेका उनी टुकुटुकु हिँड्ने उमेरदेखि त्यस्तै मुडामा बसेर दिन बिताइरहेका छन् । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उनको बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।  

वि.सं. २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मिएका उनी अपांग भएको थाहा पाएका दिनदेखि वुवा विकास राई घरबाटै वेपत्ता रहेको र आमा इन्द्रकुमारी लिम्बु वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताउनुभयो । उनको नागरिकता बनाउन बिगत पाँच वर्षदेखि सामाजिक पहल भइरहेको थियो ।

“आमा विदेशमा र वाबु वेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आउनु भएको थियो,” नागरिकताका लागि पहल गर्नु भएका शिक्षक बानियाँ भन्नुहुन्छ– “हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरवुवाले नै कनिकुथी नातिको हेरचाह गरिरहनु भएको छ ।”

ढिलै भए तापनि नागरिकता बनेपछि उनको कल्याण भएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउनुहुन्छ । नागरिकताको आधारमा अब क्षितिजले नेपाल सरकारबाट मासिक सुरक्षा भत्ता पाउने उहाँले बताउनुभयो ।

छिमेकी बानियाँका अनुसार क्षितिजलाई विहान उज्यालो भएदेखि बेलुका नसुतेसम्म बाँसको मुडामा राख्ने गरिएको छ । उनलाई खाना समेत हजुरबुवा कुमार सुब्बाले मुडामै राखेर खुवाइदिने गरेका छन् । एकैठाउँ नचलमलाई बस्न सहज होस् भनेर उनलाई मुडामा बसाउने गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीहरु नागरिकता प्रदान गर्न कार्यालयको ढड्डा नै बोकेर क्षितिजको घरमा पुगेका थिए । “नागरिकता पाउनु उहाँको नैसर्गिक अधिकार हो,” सहायक प्रजिअ नेपालले भन्नुभयो– “प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिहरुको पहिचान गरी स्थानीय जनप्रतिनिधिहरुको सहयोग लिएर आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पुर्याएका हौं ।”

चालु आर्थिक बर्ष २०८१÷८२ मा जिल्लाका चार जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले बताउनुभयो । यसरी घरमै नागरिकता प्रमाणपत्र पाउने अरु तीन जना व्यक्तिहरु बुद्धशान्ति गाउँपालिका वडा नं. ४ र ५ का रहेका छन् । बुद्धशान्ति गाउँपालिका–५ वडाध्यक्ष डेगेन्द्र कार्कीले पूर्ण अपांगता भएका २२ बर्षीय सौरभ चापागाईको आफैले पहल गरेर नागरिकता बनाइदिएको बताउनुभयो ।