१८ चैत २०८१, मङ्गलवार

समाचार विश्लेषण

जनआन्दोलन कि दुर्गा प्रसाईको आन्दोलन ?

१४ चैत २०८१, शुक्रवार
Image

झापा, १५ चैत । आज काठमाडौंको तीनकुनेमा भएको राजाबादी प्रदर्शन जनआन्दोलन हो कि दुर्गा प्रसाईको आन्दोलन ?

राजाबादीहरुले राजा फर्काउने भन्दै आज सुरु गरेको प्रदर्शन निकै उग्र, हिंसात्मक र प्रतिशोधात्मक देखियो । जसको केन्द्रीय भूमिकामा हुनुहुन्थ्यो राजाबादी अभियन्ता दुर्गा प्रसाई ।

संयुक्त जनाआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले प्रदर्शनपछि जारी गर्नु भएको विज्ञप्तिमा ‘जनआन्दोलन जनताको नियन्त्रणमा हुन्छ, नेताको नियन्त्रणमा होइन’ भन्ने नारा उल्लेख गर्नु भएको छ ।

तर, प्रवक्ता नेपालको नारासँग मेल नखानेगरी आजको राजाबादी प्रदर्शनको सुरुदेखि अन्त्यसम्म केन्द्रीय भूमिकामा सक्रिय देखिनु भयो दुर्गा प्रसाई । समितिका संयोजक नवराज सुबेदीको कुनै खोजी र चर्चा भएन । मिडियाले पनि प्रसाईलाई नै पछ्याएका थिए ।

प्रदर्शनकारीहरु दुर्गा प्रसाईका निजी लडाकु जस्ता देखिएका थिए । राजाबादी भनेर बिगतदेखि चिनिदै आएका पुराना र शक्तिशाली राजाबादीहरुलाई पनि ओझेल पार्दै व्यवस्था परिवर्तनको नारामा अराजकता प्रदर्शनको तारतम्य मिलाउनु भयो दुर्गा प्रसाईले । 

आन्दोलनको श्रेय हाइज्याक होला भनेर प्रसाईले केही दिन अघि नै राजाबादी दल राप्रपाको सातो टिपेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आज आन्दोलनको भीडमा कहिँकतै देखिनु भएन । बरु, आन्दोलनलाई उग्र दिशामा पुर्याएर कमान्डर प्रसाई सुटुक्क बाहिरिएपछि राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रको ताहुरमाहुर हेर्नलायक थियो ।

मिश्रले चोकमा उभिएर निकैबेरसम्म वरिपरि भेला हुन र तोडफोडमा संलग्न नहुन चिच्याएर आग्रह गरिरहनु भयो । दुर्गा प्रसाईको उक्साहटमा हौसिएको भीडले कुरो पिटिक्कै नसुनेपछि मिश्र ट्राफिक गोलाइबाट ओर्लिन बाध्य हुनुभएको थियो । 

मिश्रले भीडलाई सम्बोधन गर्न चाहनु भएको थियो, तर भीड उहाँ (राप्रपा)लाई सुन्न तयार भएन । संयोजक नवराज सुबेदी, ज्ञानेन्द्र शाही लगायतका नेताले राजाबादीको सभालाई सम्बोधन गर्न पाउनु भएन। प्रवक्ता स्वागत नेपालले पनि भाषण गर्ने अवसर पाउनु भएन । पछि उहाँको प्रेस विज्ञप्ति आयो ।

आजको भीड कमान्डर दुर्गा प्रसाईको आदेश र निर्देशनमा चल्ने प्रकृतिको थियो । जसको उदाहरण हो, उहाँ आफैले प्रहरीको ब्यारियर तोडेर गाडी चलाएपछि हिंस्रक झडपको सुरुवात हुनु । प्रसाई आफैले गाडी कुदाएर निषेधित क्षेत्र तोड्नु भएको थियो । यसपछि भीड हौसिएको थियो ।

त्यही भीड पछि व्यक्तिको निजी सम्पत्ति र पार्टी कार्यालयमा आगजनी गर्न पुगेको थियो । प्रहरीको बन्दुक खोस्ने दुस्साहस पनि त्यसपछि भएको थियो । भीडले अन्नपूर्ण पोस्ट र कान्तिपुर कार्यालयमा आगजनीको प्रयास गरेको थियो । पेरिसडाँडामा माओबादी केन्द्रको कार्यालयलाई पनि निशाना बनाउन खोजेको थियो भीडले ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा कसैको पनि रगत नबगोस् भनेर सदिच्छा ब्यक्त गरिबक्सेको छ’ भनेर भन्दै आएका राजाबादीहरुको पहिलो प्रदर्शन नै आज हिंसाबाट सुरु भएको छ । पूर्वराजा शान्ति चाहन्छन् कि हिंसात्मक मुठभेड भन्ने प्रश्न खडा भएको छ ।

राप्रपाको खासै भूमिका नरहेको आजको प्रदर्शनको जस र अपजसको भारी भने कमान्डर दुर्गा प्रसाई र पूर्वराजा ज्ञानेन्द्र शाहले नै बोक्नु पर्ने देखिएको छ । तसर्थ, आजको आन्दोलन जनआन्दोलन नभएर दुर्गा प्रसाईको आन्दोलनमा परिणत हुन पुगेको छ ।