झापा, २५ चैत । पत्रकार सुरज रजकको मृत्यु भएको घरमा आगजनी भएको विषयमा अनुसन्धानका गर्न प्रहरीले आज राजाबादी अभियन्ता एवम्र पूर्व पत्रकार एनी कुँवरलाई पक्राउ गरेको छ ।
चैत १५ गते राजाबादीको प्रदर्शनको क्रममा तनावग्रस्त बनेको तीनकुनेमा एउटा घरमा आन्दोलनकारीले आगजनी गरेका थिए । त्यही घरभित्र पत्रकार रजक जलेको अवस्थामा भेटिएका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज कुँवरलाई पक्राउ गरेको पुष्टि गरेको छ ।
आगजनी भइरहेको बेला खिचिएको एउटा भिडिओमा कुँवर मुखमा नकाव लगाएको एउटा पुरुषसँगै भवनको माथ्लो तलाबाट हतारहतार तलतिर ओर्लिरहेको देखिएको थियो ।
यो भिडियो सार्वजनिक भएपछि कुँवरले आफुले पत्रकार रजकलाई नदेखेको तर भवनको कार्यालयको कम्प्यूटरमा लागेको आगो निभाउन भूमिका खेलेको प्रष्टिकरण दिनु भएको थियो ।
प्रहरीले कुँवरलाई अर्काको घरमा अनाधिकृत प्रवेश गरेको अरोप लगाएको छ ।
उक्त भवनमा आगो कसले झोस्यो, पत्रकार रजकको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमै छ ।
कुँवर एभिन्युज टिभीकै पूर्वपत्रकार हो । पत्रकार रजक पनि सोही टिभीमा कार्यरत हुनुहुन्थ्यो । हाल उहाँ पत्रकारिता छाडेर राजावादी अभियानमा सक्रिय हुनुहुन्छ ।
पूर्व युवराज पारश शाहसँग खिँचेको फोटोका कारण उहाँ सामाजिक सञ्जालमा विवादित समेत हुनुभएको थियो ।