२५ चैत २०८१, मङ्गलवार

राजाबादीका कमान्डर भाइलाई नभेटेपछि दाइ पक्राउ

२४ चैत २०८१, सोमवार
Image

झापा, २५ चैत । प्रहरीले चैत १५ गतेको राजाबादी प्रदर्शनमा भएको हिंसात्मक घटनामा दोषी भनेर आरोप लागेका राजाबादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईलाई खोजी गरिरहेको छ ।

तर, आज प्रहरीले उहाँका दाजु राकेश प्रसाईलाई पक्राउ गरेको छ । दुर्गा प्रसाईको सोधीखोजी गर्न राकेशलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।

काठमाडौंको पेरिसडाँडामा राकेश प्रसाईको निवास छ । निवासबाटै उहाँलाई पक्राउ गरिएको थियो ।

यो खबर सार्वजनिक भएपछि भाइको दोषमा दाजुलाई पक्राउ गरेको भनेर सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ ।

स्रोतका अनुसार राकेश प्रसाई पनि दुर्गा प्रसाईको राजाबादी महाअभियानमा सक्रिय हुनुहुन्छ । तर, तीनकुने घटनामा उहाँको कुनै संलग्नता अहिलेसम्म सार्वजनिक भएको छैन ।

चैत १५ गते राजाबादी प्रदर्शन हिंसात्मक र अराजक बनेपछि त्यसदिनका कमान्डर दुर्गा प्रसाई एउटा गाडी मगाएर सुटुक्क फरार हुनु भएको थियो ।

त्यही गाडी लिएर उहाँ झापा आइपुगेको र त्यहाँबाट कता लाग्नु भयो भन्ने प्रहरीले अहिलेसम्म अत्तोपत्तो लगाउन सकेको छैन ।

उहाँ झापाबाट गलगलिया हुँदै बागडुग्रा गएर हवाइजहाज मार्फत भारतको कुनै सहरतिर पुगेको हुनसक्ने कतिपयले चर्चा गर्दै आएका छन् ।