झापा, १० वैशाख । मेचीनगर नगरपालिकाको विकास निर्माण सम्बन्धी विभिन्न मागको पोको बोकेर नगरको प्रतिनिधिमण्डल सिंहदरवारमा पुगेको छ ।
नगरप्रमुख गोपाल बुढाथोकीको नेतृत्वमा रहेको नगरको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ ।
नगरपालिकाका प्रवक्ता दिपक बरालले आफ्नो फेसबुकमार्फत भेटघाटका फोटोहरु सार्वजनिक गर्दै लेख्नु भएको छ–‘मेचीनगर नगरपालिकाको विकासका सन्दर्भमा पालिकाको तर्फबाट तयार पारिएका योजनाहरु व्यवस्थित तवरले प्रधानमन्त्री समक्ष पेश गरिएको छ ।’
मेचीनगरको विकासका सन्दर्भमा प्रधानमन्त्री ओलीले चासो लिएको जनाउँदै प्रवक्ता बरालले आगामी आव २०८२/८३ को बजेटमा पालिकालाई अधिकतम् प्राथमिकतामा राखिने प्रधानमन्त्रीबाट आश्वासन प्राप्त भएको बताइएको छ ।
यसैगरी, प्रतिनिधिमण्डलले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठ,अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार मन्त्री देबेन्द्र दाहाललाई समेत भेटेर आगामी वर्षको बजेटमा उल्लेख्य बजेट हालिदिन माग गरेको छ ।
प्रतिनिधिमण्डलमा उपप्रमुख मीना उप्रेती, प्रवक्ता बराल, पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्मा, मेचीनगरका पूर्व सांसद् श्रीप्रसाद मैनाली, पूर्व नगरप्रमुख बिमल आचार्य, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की लगायत हुनुहुन्छ ।