१५ वैशाख २०८२, सोमवार

तेराख प्रतिष्ठानद्वारा खतिवडा र विरहीसहित चार प्रतिभा पुरस्कृत

१३ वैशाख २०८२, शनिवार
Image

झापा, १३ वैशाख । भारतको सिलगढीका साहित्कार ज्ञानेन्द्र खतिवडा र झापाका साहित्यकार विरही अधिकारी आज तेराख देवकोटा महाकवि साहित्य पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

साहित्यकार तेराख प्रतिष्ठानले धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा एक समारोहबीच उहाँहरुलाई सम्मानित गरेको हो ।

नेपाली भाषा, साहित्य र कलाका सिर्जनामा पुर्याउनु भएको योगदानका लागि नगद रु. ५१ हजारको जनही नगद पुरस्कारसहित उहाँहरुलाई सम्मानित गरिएको थियो ।

कृषि क्षेत्रमा उदाहरणीय योगदान पुर्याएको भन्दै बुद्धशान्ति वडा नं. ६ का राजेन्द्र भट्टराई र धुलाबारी माध्यमिक विद्यालयमा कक्षा १२ की छात्रा स्मृति लिम्बुलाई जनही रु. २१ हजारसहित सम्मान गरिएको थियो ।

भट्टराईलाई मधुसुदन कृषि पुरस्कार र लिम्बुलाई पद्मादेवी छात्रा पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार, सामाजसेवी र राजनीतिक नेतृत्व तहको विशिष्ट उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, प्रसिद्ध कलाकार तथा पूर्व प्राज्ञ पवन राजवंशी, प्राडा गङ्गाप्रसाद अधिकारी, सहप्राध्यापक चूडामणि वशिष्ठ, आख्यानकार पुण्यप्रसाद खरेल, मोहन ठकुरी, वरिष्ठ पत्रकार तथा गीतकार चन्द्र भण्डारी, मोनिका प्रधान, संस्कृतका प्रसिद्ध विद्वान लेखक विद्यापति उपाध्याय दाहाल, प्रसिद्ध साहित्यकार भविलाल लामिछाने, धुलाबारी माविका अध्यक्ष गणेशविक्रम नेम्वाङ, जी सुनार, पूर्व प्राज्ञ सुभद्रा भट्टराई लगायतको कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो । 

प्रतिष्ठानका सचिव जय भण्डारीले सञ्चालन र उपाध्यक्ष दुर्गा खतिवडाले स्वागत गर्नुभएको कार्यक्रमको उद्घाटन दीप प्रज्ज्वलन र साहित्यकार तेराखको तस्वीरमा माल्र्यापण गरेर भएको थियो ।