झापा, १३ वैशाख । शहीद वीरेन स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता र आदिवासी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मेचीनगरका तीन प्रतिभालाई सम्मान गरेको छ ।
प्रतिष्ठानको १३ औं साधारणसभाको अवसर पारेर शिक्षासेवी भीम खवास, पत्रकार मोहन काजी र आदिबासी क्षेत्रका अगुवा चुण्डा हस्दालाई सम्मानित गरेको हो ।
शिक्षा, साहित्य र राजनीतिक क्षेत्रका अगुवा खवास ज्यामिरगढी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक र धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ भने पत्रकार काजी लोकतन्त्र पोस्टका सम्पादक एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
आदिवासी क्षेत्रका अगुवा हस्दा सन्थाल समुदायको नेता हुनुहुन्छ ।
प्रतिष्ठानले मेचीनगर–१४ दुहागढीस्थित बालसुबोधिनी माध्यमिक विद्यालय नगरको उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ । विद्यालयका प्रअ विश्व थापाले कार्यक्रममा सम्मान ग्रहण गर्नु भएको थियो ।
मेचीनगर नगरपालिकाकी कार्यवाहक अध्यक्ष मीना उप्रेती कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर १५ का वडाध्यक्ष राजन भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पदम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य मानसिंह राजबंशी, भद्रपुर ९ का वडाध्यक्ष राम दाहाल, ज्यामिरगढी माविकी अध्यक्ष मञ्जु बस्नेत, शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशी, शहीद विश्वनाथ घिमिरेका नाति निरज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।