झापा, १४ वैशाख । शहीद वीरेन स्मृति प्रतिष्ठानको अध्यक्ष पदमा पदम गौतम सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
शनिवार मेचीनगर १५ ज्यामिरगढीमा भएको प्रतिष्ठानको १३ औं साधारणसभाले गौतमलाई आगामी ३ वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
कार्य समितिका सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत भएका छन् । समितिको उपाध्यक्षमा चेतबहादुर राउत, सचिवमा चेतन बिष्ट, सहसचिवमा हेमकुमार राई, कोषाध्यक्षमा आरती राजबंशी र सदस्यहरुमा विमला राजबंशी, राजु राजबंशी, जोगेन राजब.शी, रामचन्द्र गौतम र सुनिता राजबंशी चयन हुनु भएको छ ।
मेचीनगर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यमा साधारणसभा भएको थियो । नवनिर्वाचित कार्य समितिका तर्फबाट अध्यक्ष गौतमले प्रतिष्ठानको अक्षयकोष वृद्धि गर्ने लगायतका प्रतिवद्धताहरु व्यक्त गर्नु भएको छ ।
प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा शिक्षा, पत्रकारिता र आदिवासी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मेचीनगरका तीन प्रतिभालाई सम्मान गरिएको थियो ।
शिक्षासेवी भीम खवास, पत्रकार मोहन काजी र आदिबासी क्षेत्रका अगुवा चुण्डा हस्दालाई सम्मानित गरिएको हो ।
शिक्षा, साहित्य र राजनीतिक क्षेत्रका अगुवा खवास ज्यामिरगढी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक र धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ भने पत्रकार काजी लोकतन्त्र पोस्टका सम्पादक एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
आदिवासी क्षेत्रका अगुवा हस्दा सन्थाल समुदायको नेता हुनुहुन्छ । प्रतिष्ठानले मेचीनगर–१४ दुहागढीस्थित बालसुबोधिनी माध्यमिक विद्यालय नगरको उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ । विद्यालयका प्रअ विश्व थापाले कार्यक्रममा सम्मान ग्रहण गर्नु भएको थियो ।