झापा, २७ बैशाख । पालिकाहरुको फितलो अनुगमनको फाइदा उठाउँदै जिल्लाका विभिन्न नदीहरुमा अबैध रुपमा बालुवा र गिटी उत्खनन भइरहेको छ ।
जसको पछिल्लो उदाहरण अर्जुनधारामा देखियो । अर्जुनधारा वडा नं. ३ स्थित टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले शनिवार अनुगमन गर्दा दुई वटा स्काइभेटर नै अबैध उत्खननमा संलग्न भएको भेटिएको थियो ।
जिल्लाका प्रहरी प्रमुख राजन लिम्बु समेत संलग्न उक्त अनुगमनको क्रममा बा२क ४६४७ नम्बरको एउटा र अर्को नम्बर नै नभएको स्काइभेटरले खोलाबाट बालुवा र गिटी खोतलिरहेको फेला परेको थियो ।
प्रहरीले दुबै स्काइभेटरलाई आवश्यक कार्वाहीका लागि नगरपालिकामा बुझाइदिएको छ । जिल्लाको मेचीनगर, कनकाई, भद्रपुर, बुद्धशान्ति लगायतका पालिकामा स्थानीय तहले ढुंगा, गिटी र बालुवाको उत्खनन र निकासीका लागि ठेक्का लगाउने गरेका छन् ।
तर, पालिकाको अनुगमन फितलो भएकाले क्रसर व्यवसायी र ट्याक्टर सञ्चालकहरुले खोलाबाट मापदण्ड विपरीत खोला दोहन गर्दै आएका छन् ।