२९ वैशाख २०८२, सोमवार

मेचीनगरका नगरप्रमुख बुढाथोकीले भन्नुभयो–‘भ्याउँदिन नभनौं’

२९ वैशाख २०८२, सोमवार
Image

झापा, २९ वैशाख । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले ध्यान र सकारात्मक सोचले जीवनमा ठूलो परिवर्तन आउने बताउँदै त्यसका लागि ‘भ्याउँदिन’ नभन्न आग्रह गर्नु भएको छ ।

बुद्ध जयन्तीको अवसरमा आज मेचीनगर–९ स्थित मेचीनगर बचत तथा ऋण सहकारीको सभाहलमा आयोजित ध्यान तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले ध्यानप्रति आफ्नो पनि झुकाव बढ्न थालेको बताउनुभयो ।

‘एक महिनादेखि म पनि ध्यानसँग जोडिएको छु,’ उहाँले भन्नुभयो–‘भ्याउँदिन भन्दा भन्दै नौ दिनसम्म दुई घण्टाका दरले ध्यान सिक्न समय निकालेँ । म तपाईहरुलाई पनि आग्रह गर्छु–भ्याउँदिन नभनौं ।’

उहाँले मेचीनगरका नगरबासीलाई ध्यान र योगमार्फत स्वस्थ र अनुशासित जीवनशैलीमा हिँडाउन अभियान सञ्चालन गर्ने आफ्नो सोचाइ रहेको बताउनुभयो । 

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय गर्नु उचित भएको धारणा व्यक्त गर्दै उहाँले स्वास्थ्यलाई समाप्त पारेर दौडिने कुरा गलत रहेको आफ्नो पछिल्लो बुझाइ रहेको सुनाउनु भयो ।

‘म दैनिक आठ वटा दबाई खान्छु,’ नगरप्रमुख बुढाथोकीले ध्यान जरुरी रहेको चर्चा गर्दै भन्नुभयो–‘घरघरमा मानिस बिरामी छन् । टोल टोलमा दवाईका दोकान खुलेका छन् । तर, रोग लाग्नै नदिन अनुशासित जीवन जिउन सिकाउने र सिक्ने बारेमा कहिँ कतै कसैले खोजी गरेको देख्दिन ।’

उहाँले अनुशासित जीवन आजको अपरिहार्य आवश्यकता भएको निष्कर्ष सुनाउँदै सकारात्मक सोच र अनुशासित खानपानमा ध्यान दिनसके मानिस निरोगी हुने बताउनुभयो ।

मेचीनगर–११ स्थित हिमालय योगिष फाउन्डेसनले आयोजना गरेको उक्त शिविरमा गुरु योगिषले सहभागीहरुलाई ध्यान, सकारात्मक सोच र स्वस्थ रहन अपनाउनु पर्ने जीवन शैलीका बारेमा प्रवचन दिनु भएको थियो ।

२८ वर्षीय गुरु योगिष समाजमा परिवर्तन ल्याउन आम मानिसमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको चर्चा गर्दै ध्यानले मानिसको जीवन र समाजमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो ।

‘मानिसहरु अर्कालाई सप्रिनु पर्यो भनेर उपदेश दिन्छन्,’ उहाँको भनाई थियो–‘तर, उपदेश दिनेहरु स्वयम्र बिग्रिएका छन् । बिग्रिएको मानिसले अरुलाई सपार्न सक्दैन । परिवर्तन पहिला आफुबाटै सुरु गर्नुपर्छ ।’

ध्यान साधक एवम्् सामाजिक व्यक्तित्व चन्द्रमणि पौडेलले स्वागत र साधक बसन्त बिष्टले सञ्चालन गरेको उक्त शिविरमा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई लगायतको विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।