झापा, १ जेठ । लैंगिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो ।
महिलाले भोग्नु परिरहेको हिंसा न्यूनीकरण गर्न महिला मात्रै सक्रिय भएर नपुग्ने हुँदा पुरुषहरुलाई समेत हिंसामुक्त समाज निर्माणको हिस्सेदार बनाउन पुरुष सञ्जाल गठन गरिएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।
नवगठित पुरुष सञ्जालको संयोजकमा पत्रकार मोहन काजी र सचिवमा शिक्षासेवी हिम्मत क्षेत्री रहनु भएको छ । सदस्यमा रुपसागर अधिकारी, केसाङ लामा, हेमेन्द्र निरौला, अपूर्व डाँगी, मञ्जिल देवान, मनकुमार लिम्बु, तिलक श्रेष्ठ, ईश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे, कृष्ण श्रेष्ठ, थेसिस रुचाल लगायत रहनु भएको छ ।
लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तर्गत गठन भएको सञ्जालले मेचीनगर नगरपालिकाका १५ वटै वडामा सचेतनामूलक कार्यक्रम लैजाने भएको छ ।
समाजमा महिला नै बढी मात्रामा लैंगिक हिंसाको शिकार भइरहेको जनाउँदै परियोजनाकी लैंगिक हिंसाविरुद्धको विज्ञ कमला उप्रेती रिजालले समतामूलक नीति निर्माण, न्यायसंगत कानून कार्यान्वयन र पितृसत्तात्मक सोचका विरुद्धको आवाजमा पुरुष सञ्जालले बल प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
अखिल नेपाल महिला संघकी जिल्ला सदस्य जानुका ओलीले हिंसा न्यूनीकरण अभियानमा पुरुष दाजुभाइको उत्तिकै सहयोग आवश्यक पर्ने भएकाले मेचीनगर नगरपालिकाले पुरुष सञ्जाल गठन गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
उपभोक्ता जागरण अभियान मेचीनगरकी अध्यक्ष रचना घिमिरेले महिला हिंसा न्यूनीकरणको मुद्धा महिलाको मात्र हो भन्ने सोच त्याग्नु पर्ने बताउँदै पुरुष सञ्जालले महिला र पुरुष जोकोहीले भोगिरहेको हिंसा अन्त्यका लागि पहल गर्नुपर्ने सुझाव दिनु भएको छ ।