झापा, १ जेठ । अरु पालिका किसानले सरकारबाट केही सहयोग नपाएको गुनासो गरिरहेका बेला विर्तामोड नगरपालिकाले किसानलाई बाख्रा बाड्ने लोभलाग्दो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।
‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत विर्तामोडले बुधवार वडा नम्बर ७ मा रहेको सीताराम मन्दिर टोल कृषक समूहलाई ४५ वटा बाख्रा वितरण गरेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले बताउनुभयो ।
प्रति किसान तीन वटाका दरले १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । समूहले बाख्रासँगै एउटा बीउ बोका समेत पाएको छ । किसानले पाएका बाख्रा र बोकाको बिमा समेत गरिएको छ ।
विर्तामोडमा बाख्रा साटासाट कार्यक्रम २०७४ सालदेखि सञ्चालनमा छ । नगरमा १८ वटा बाख्रा कृषक समूह छन् । अहिलेसम्ममा ८१० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनु भयो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले थोरै भएपनि आय स्रोतको लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो ।
वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेलले औषधि उपचार, विमाको सुविधा रहेकोले बाख्रामा कुनै क्षति नहुने बताउनु भयो ।