५ जेठ २०८२, आइतवार

पर्यटक लोभ्यायो बर्नेको ढकमक्क गुलमोहरले

५ जेठ २०८२, आइतवार
Image

झापा, ४ जेठ । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फूलेको गुलमोहरले दैनिक हजारौं पर्यटकलाई लोभ्याउने गरेको छ । 

सो स्थानमा वर्षौदेखि फूल फुल्दै आए पनि बिगत दुई वर्षदेखि पर्यटकको नजरमा परेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो । उक्त गुलमोहरको फेदमा फोटो खिचाउन र भिडियो खिच्न सर्वसाधारण, बाह्य पर्यटक र युट्यूबरहरुको भीड लाग्ने गरेको छ ।

“कति पर्यटक आउने गरेका छन् भनेर रेकर्ड राखिएको छैन,” पालिकाका अध्यक्ष प्रसाईले भन्नुभयो–“फोटो खिचाउनेहरु छिनछिनमा आउने र जाने गरिरहन्छन् । एक दिनमा एक हजार जना त पक्कै आउँछन् ।” 

पर्यटकको चहलपहल बढेपछि स्थानीय पालिकाले सो स्थानमा सुविधाका लागि गत वर्ष नै खानेपानी, शौचालय र बस्ने चौताराको निर्माण गरिदिएको छ । दर्जनौं साना होटल र चिया पसलहरु खुलेका छन् ।

झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फूलेको गुलमोहरले हरेक यात्रुलाई केहीक्षण सवारी रोकेर भए तापनि फोटो खिचाउन बाध्य पार्ने गरेको छ । 

शनिवार र सार्वजनिक विदाका सो स्थानमा पर्यटकको ज्यादा भीड लाग्ने गरेको छ । हाल एक दर्जनको संख्यामा ठूला गुलमोहरको रुख रहेका छन् । पालिकाले गत वर्ष सौन्दर्य बढाउने भन्दै वरपर २०० गुलमोहरका विरुवा रोपेको जनाएको छ ।

पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ भने पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् ।

प्राकृतिक रुपमा फुलेको फूलले मानिसलाई कति आकर्षण गर्दोरहेछ भन्ने एउटा उदाहरण बनेको छ बर्नेको गुलमोहर । इलामको कन्याम, श्रीअन्तु, माइपोखरी लगायतका पर्यटकीय स्थल जाँदै गरेका मानिसहरु समेत गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् । 

यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं. ६ मा कोशी प्रदेशकै लामो झोलुंगे पुल रहेको छ । झोलुंगे पुल हेर्न जानेहरु समेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् ।

गुलमोहरले आकर्षित गर्दा यहाँको पर्यटकीय स्थलमा यातायातको चाप बढेका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । सडक किनारमै उभिएर एकोहोरो फोटो र भिडियो खिच्दा तीब्र गतिमा गुडिरहेका यातायातका साधनले ठक्कर दिने जोखिम बढेको हो ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् )