२० जेठ २०८२, सोमवार

हिन्दू महासंघले ‘अहिलेका कुनै पात्रमा राजाको गुण छैन’ भनेपछि खैलाबैला

१५ जेठ २०८२, बुधवार
Image

झापा, १४ जेठ । विश्व हिन्दू महासंघ नेपालले अहिले राजा बनाउने भनेर चर्चामा ल्याएका कुनै पनि पात्रमा राजकीय गुण र गरिमा नभएको विज्ञप्ति जारी गरेपछि राजाबादीहरुमा खैलाबैला मच्चिएको छ ।

महासंघको नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले हालै विज्ञप्ति जारी गर्दै त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

राजावादीहरुले जेठ १५ गतेदेखि जनान्दोलन गरेर ज्ञानेन्द्र शाह वा उनको नाति हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको त्यस्तो विचार आउँदा आन्दोलनकारीहरु नै अलमलमा परेका छन् ।

‘हिन्दू राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजकीय गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ,’ महासंघका अध्यक्ष डा. अधिकारीको विज्ञप्तिमा लेखिएको छ– ‘चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।’

जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।

अध्यक्ष डा. अधिकारीको विज्ञप्ति लगत्तै भोलिपल्ट अर्थात मंगलबार महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खराल लगायतका केही पदाधिकारीले अलग्गै विज्ञप्ति जारी गरी डा. अधिकारीको धारणामा असहमति जनाउनु भएको छ । उहाँहरुले जेठ १५ गतेदेखि सुरु हुने राजाबादीहरुको आन्दोलनमा सहभागी हुन आह्वान गर्नु भएको छ ।