झापा, १४ जेठ । नेपाली कांग्रेस झापाका सचिव एवम् वरिष्ठ पत्रकार कृष्ण हुमागाईले राजाबादीहरुले गणतन्त्र दिवसका दिन जानाजान कार्यक्रम जुधाएको बताउनु भएको छ ।
उहाँले जेठ १५ गते गणतन्त्र दिवस भन्ने थाहा पाउँदा पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजाबादीहरुले काठमाडौंमा कार्यक्रम जुधाएको बताउनुभयो ।
जेठ १५ गते काठमाडौंमा नेकपा एमालेले भृकुटी मण्डपमा गणतन्त्र दिवसको खुशीयालीमा विशाल सभाको आयोजना गर्दैछ । सोही दिन राप्रपाको अगुवाईमा राजाबादीहरुले राजा र हिन्दू राज्य स्थापनाका लागि जनान्दोलन सुरु गर्ने जनाएका छन् ।
‘गणतन्त्र दिवसमा थुप्रै कार्यक्रम हुन्छन् भन्ने थाहा हुँदाहुँदै लोकतन्त्र विरोधीले किन कार्यक्रम जुधाउनु ?,’ उहाँले भन्नुभयो–‘हरेक वर्षको जेठ १५ गते गणतन्त्र दिवसका कार्यक्रम हुन्छन् भन्ने सबैलाई अगाडि नै थाहा हुने कुरा हो । कि अर्को दिन कार्यक्रम गर्नु ।’
उहाँले राजाबादीहरुले गर्ने कुनै पनि प्रदर्शन जनान्दोलनको परिभाषाभित्र नपर्ने बताउनुभयो । उहाँको भनाई छ–‘जनान्दोलन त अग्रगामी परिवर्तनका लागि हुन्छ, प्रतिगमनका लागि होइन ।’ उहाँले आफ्ना केही समर्थकलाई सकडमा पठाएर पूर्वराजा ज्ञानेन्द्र शाह लुकेको टिप्पणी गर्दै भन्नुभयो–‘अरुलाई किन उतार्नु, आफै सडकमा आउनु नि ।’