२० जेठ २०८२, सोमवार

कोशीका चार पालिकामा लैङ्गिक हिंसाविरुद्ध परियोजना सञ्चालन

१५ जेठ २०८२, बुधवार
Image

झापा, १४ जेठ । विश्व बैंकको सहयोगमा कोशी प्रदेशका चार वटा पालिकामा परीक्षणको रुपमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चालन भएको छ ।

झापाको मेचीनगर नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका र संखुवासभाको भोटखोला गाउँपालिकामा परियोजना सुरु भएको परियोजनाकी विज्ञ कमला उप्रेतीले बताउनुभयो ।

नेपालमा कोभिड–१९ को महामारीपछि लैङ्गिक हिंसा बढेर गएको हुँदा यसको रोकथाम र प्रतिकार्यका लागि विश्व बैंकको सहयोगमा परीक्षणको रुपमा देशभर छ वटा र कोशीका चार वटा पालिकामा परियोजना लागू भएको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा र नवलपरासीको रामग्राम नगरपालिकामा पनि यो परियोजना लागू भएको छ । विश्व बैंकले चालू आर्थिक वर्षमा पालिकालाई परियोजना सञ्चालनका लागि रु. ४० लाखका दरले सहयोग प्रदान गरेको जनाइएको छ ।

परियोजना परीक्षणको रुपमा पाँच वर्षको हुने र त्यसको प्रभावकारिता मूल्यांकनपछि देशभरका सबै पालिकामा यसलाई लैजाने नेपाल सरकारको योजना रहेको उप्रेतीले बताउनुभयो ।

परियोजना सञ्चालन भएका पालिकामा समाजका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर सद्भावना दूतका रुपमा ‘पुरुष सञ्जाल’ गठन गर्ने र सञ्जालमार्फत लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायमा रोकथाम र प्रतिकार्य सम्बन्धी कार्यक्रम गरिने भएको छ ।

परियोजना अन्तर्गत पहिलोपल्ट मेचीनगरमा र त्यसपछि धनकुटामा पुरुष सञ्जाल गठन गरेर सञ्जालका सदस्यहरुलाई दक्षता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको छ । 

मेचीनगर नगरपालिकाले कार्यपालिकाबाट पुरुष सञ्जाल सम्बन्धी कार्यविधि अनुमोदन गरी नगरको राजपत्रमा प्रकाशित गरिसकेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । कार्यविधि अनुसार सञ्जालको कार्य समिति मनोनित गरिएको हो । समितिको कार्यकाल पाँच वर्ष रहने उल्लेख छ ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समाजमा भइरहेका लैङ्गिक हिंसाविरुद्ध उभिन, आदर्श पुरुषको रुपमा समाजमा सकारात्मक सोचको विकास गर्न र पितृसत्तात्मक गलत सोचहरुलाई परिवर्तन गर्न पुरुष सञ्जालले योगदान पुर्याउने अपेक्षा गरिएको बताउनु भएको छ । 

मेचीनगर नगरपालिकाको महिला तथा वालवालिका शाखाकी प्रमुख जयन्ती खरेलले परियोजना अन्तर्गत गठन भएको सञ्जालका संयोजक र सदस्यहरु अवैतनिक हुने र समाजमा लैङ्गिक हिंसा हुन नदिनेगरी समुदायमा विभिन्न कार्यक्रम लैजाने जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत पािलकामा मनोपरामर्शकर्ता नियुक्त हुने र हिंसा पीडितको सुरक्षा र सहयोगका लागि सुरक्षित कक्षको स्थापना गरिने भएको छ ।

पुरुष सञ्जाल नयाँ अवधारणा भएकाले समाजमा यसका बारेमा चासो धेरै रहेको जनाउँदै केन्द्रीय पुरुष सञ्जालका सदस्य संजोग ठकुरीले सञ्जालका हरेक सदस्य आदर्श पुरुष बन्न सके मात्र समाजमा लैङ्गिक हिंसाको अन्त्य गर्न सञ्जालको अभियान प्रभावकारी हुने बताउनु भएको छ ।