झापा, १६ जेठ । एभ्रास्कन कालिका जेभीले निर्माणाधीन पूर्वपश्चिम राजमार्गको विर्तामोड पूर्वका डाइभर्सनमा बगरबाट संकलित पुरुवा हालेर सडक टालटुल गर्न थालेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको हालै बैठकमा डाइभर्सनमा बढी खाल्डाखुल्डी रहेको चर्चा चलेपछि सडक निर्माणको ठेक्का लिएको कम्पनीले टालटुल सुरु गरेको हो ।
विपद्को बैठकमा कुरा उठ्नु अघि अघि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले यसपाली बर्खामा राजमार्ग निर्माणको ढिलासुस्तीका कारण राजमार्गमै विपद् आउने चेतावनी दिनु भएको थियो ।
‘बर्खा सुरु हुन लाग्यो, बाटोघाटोको अवस्था नाजुक छ,’ उहाँले भन्नु भएको थियो–‘यो वर्ष आवतजावतमा धेरै कठिनाई हुन्छ जस्तो देखियो ।’
उहाँले अबको केही दिनपछि झापाको एउटा पालिकाबाट अर्को पालिकामा आउजाउ गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले त्यस्तो विपद्सँग जुध्न अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
मिडियामा समाचार र बैठकमा छलफल हुन थालेपछि निर्माण कम्पनीले बर्खामा आवागमन अवरोध नहोस् भनेर कल्भर्टका कामलाई तीब्र गतिमा बढाएको छ भने डाइभर्सनमा पुरुवा भर्ने काम धमाधम गरिरहेको छ ।
यसपाली बर्षा धेरै हुने मौसमी प्रक्षेपण भइरहेको छ । पूर्वपश्चिम राजमार्गको स्तरोन्नति क्रममा सडकको एक किलोमिटर खण्डमा दशवटा भन्दा बढी डाइभर्सन रहेका छन् ।