मेचीनगर, १६ जेठ । महिला जनचेतना केन्द्रले …बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरणÚ सम्बन्धी विर्तामोडमा जिल्लास्तरीय कार्यक्रम गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सभाको उपसभामुख सिर्जना दनुवारले बाल विवाह न्यूनीकरणका लागि अभिभावक समेत सचेत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बाल विवाह न्यूनीकरणका लागि जनचेतना केन्द्रले जिल्लामा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूलगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विगत नौ बर्षदेखि जनचेतना केन्द्रले बाल विवाह न्यूनीकरणका क्षेत्रमा कचनकवल, बाह्रदशी र मेचीनगरमा गरिरहेका कार्यको डकुमेन्ट्री देखाइएको थियो ।
कार्यक्रममा बालविवाह सम्बन्धी नीति तथा कानुनका बारे अधिवक्ता कविता बास्तोला, कोशी प्रदेश तथा जिल्लामा बालविवाहको अवस्था, प्रदेश सरकारले बनाएका नीति तथा कानुनहरुको अवस्था र सरोकारवालाहरुको भूमिका विषयमा राष्ट्रिय बालअधिकार परिषद, प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नुभएको थियो । नेपालमा १५ प्रतिशतभन्दा कम उमेरमा विवाह हुनेको संख्या आठ प्रतिशत र १५ देखि १८ प्रतिशत विवाह हुनेको संख्या ३३ प्रतिशत रहेको अधिकारीले बताउनुभयो ।
यसैगरी, प्रहरी कार्यालयमा बालविवाह तथा बालअधिकार सम्बन्धी नीति तथा कार्यान्वयनका क्रममा आइपर्ने चुनौती र मुद्दाका विषयमा जिल्ला प्रहरी कार्यालयबाट सहजीकरण गरिएको कार्यक्रमकी अध्यक्ष सीता गुरुङले बताउनुभयो ।
संस्थाकी संस्थापक अध्यक्ष राधा प्रधानले बाल विवाह न्यूनीकरणका लागि महिलाहरुलाई दक्ष बनाएर आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम तथा सचेतना जगाउने उद्देश्यले मिलेर स्थानीय समुदायसँग मिलेर विविध कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रम सहभागी बालबालिकाको तर्फबाट सृष्टि विष्टले सञ्चालन गर्नुभएको थियो भने पुनम बेगमले स्वागत गर्नुभएको थियो।
कार्यक्रममा बालबालिकाहरुले नै अधिवक्ता, शिक्षक र जनप्रतिनिसँग यस विषयमा प्यानल डिस्कसन समेत गरेका छन् ।