झापा, १६ जेठ । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा रोक लगाएको छ ।
नगरपालिकाले बुधवार सूचना प्रकाशित गरी रोक लगाएको हो । मेची नदीको प्रकृति पार्क उत्तर पूर्व बाहुनडाँगीमा कुनै पनि उत्खनन र संकलन नगर्न सूचनामा भनिएको छ ।
यसैगरी, निन्दा नदीको कल्याहा चोक, रिभरल्यान्ड बगर र हडिया दोभान बगरबाट समेत नदीजन्य पदार्थको उत्खनन र संकलन बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
टिमाइ खोलाको नैनाखाल पूर्व बगर, नैनाखाल दक्षिण बगर र पशुपति गाउँ पूर्व बगरमा नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक लगाएको छ ।
हडिया खोलाको मेचे बीचकामत टोल र मेगा सिमेन्ट छेउको बगरबाट नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक लगाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१÷८२ का लागि नगरपालिका भित्रका नदीहरुबाट आइइइ प्रतिवेदनले निर्धारित गरेको परिमाणमा उत्खनन तथा संकलन कार्य भइसकेको हुँदा अब रोक लगाउनु परेको बताउनु भएको छ ।
कसैले अटेर गरी उत्खनन र संकलन गरेको पाइएमा कानून बमोजिम कार्वाही हुने नगरपालिकाको सूचनामा उल्लेख छ ।