११ साउन २०८२, शनिवार

अत्याधिक मदिरा सेवन गरेका दुई व्यक्तिको मृत्यु

९ साउन २०८२, बिहिवार
Image

झापा, ८ साउन । अत्याधिक मदिरा सेवन गरेर झापामा दुई व्यक्तिको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडको सुँगुर फार्ममा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज विहान ५ः३० बजेतिर कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्याधिक मदिरा सेवन गर्ने गरेको स्थानीयबासीबाट जानकारी पाएको खड्काले बताउनुभयो । कनकाईमा बसेर घरहरुमा रंगरोगनको ज्यालादारी काम गर्दै आएका शिवाकोटी अविवाहित थिए ।

यसैगरी, विर्तामोड नगरपालिका वडा नं. ६ शुभविहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर बुधवार विहान ६ः३० बजेतिर मृत भेटिएका छन् । मगरको घर भारतको सिक्किम भएको बताइएको छ ।

स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुँगुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए । उनी ओछ्यान मै मृत फेला परेको प्रहरीले जनाएको छ ।

“मृत भेटिनु भएका दुबै जना अत्याधिक मदिरा सेवन गर्नुहुन्थ्यो भनेर स्थानीयबासीले बताउनु भएको छ,” जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खड्काले भन्नुभयो–“घटनाको थप अनुसन्धान प्रहरीबाट भइरहेको छ ।”

केही दिन यता झापामा तापक्रम बढेर उच्च गर्मी छ । बेलुका अत्याधिक मदिरा सेवन गरी सुतेकै अवस्थामा अत्याधिक गर्मी समेत थपिएका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शिवाकोटीलाई सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा मृत भेटिएको थियो भने मगरको शब सुँगुर फार्मको भुईमा घोप्टो परेको अवस्थामा फेला पारिएको थियो ।