झापा, ९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक कार्यमा प्रयोग हुने सामग्रीको स्वदेशी उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भएको छ ।
कमल गाउँपालिका वडा नं. ६ स्थित दिव्यदृष्टि भेनेरेसन एन्ड एग्रो कन्सर्न प्रालिको आज निरीक्षण गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासले आयात प्रतिस्थापन र रोजगारीमा योगदान पुर्याउने बताउनु भयो ।
“आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धार्मिक उत्पादनमूलक उद्योगले ठूलो टेवा पुर्याउन सक्छ,” उहाँले भन्नुभयो –“यसमा प्रदेश सरकारले सहकार्यको हात अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सो अवसरमा दिब्यदृष्टि ब्रान्डका विभिन्न प्रकारका पूजा सामग्री उद्योगमा उत्पादन हुँदै आएको प्रालिका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मुख्यमन्त्री कार्कीलाई अवगत गराउनु भएको थियो ।
यहाँ उत्पादित पूजा, हवन आदिमा प्रयोग हुने २४ प्रकारका धार्मिक सामग्री कोशी प्रदेशका सबै जिल्ला र प्रदेश बाहिर काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज र दाङको बजारमा विक्री हुने गरेको समेत अध्यक्ष पोखरेलले बताउनुभयो ।
नेपालमा धार्मिक कार्यमा प्रयोग हुने अधिकांश सामग्रीहरु बिगतदेखि भारत र चीनबाट आयात हुने गरेको जनाउँदै अध्यक्ष पोखरेलले दिव्यदृष्टिले यसमा परनिर्भरता हटाउन र स्थानीयलाई रोजगारी दिन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
उद्योगकी कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले सो अवसरमा उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यावसायिक विस्तारबारे जानकारी गराउनु भएको थियो ।
उहाँले उद्योगबाट अग्र्यानिक बाटेको मच्छडधुप र पुजाका धुप समेत उत्पादन गर्दै आएको र ६० भन्दा बढि महिलाले आंशिक रोजगारी तथा १५ जनाले पूर्णकालीन रोजगारी पाएको बताउनुभयो ।
उद्योगले नवग्रह समिधा, हवन सामग्री, दिब्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पूजा सामग्री उत्पादन गर्दै आएको बताइएको छ ।
आवश्यक पर्ने कच्चा पदार्थ समेत स्थानीय रुपमै संकलन हुने गरेको र निकट भविष्यमा उत्पादनलाई विदेश निर्यात गर्ने लक्ष्य राखिएको तिम्सिनाले जानकारी दिनुभयो ।