धुलाबारी, १० साउन ः रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार वटा वृक्षारोपण गरेको छ ।
मानवताको सेवामा समर्पित रोटरीले वातावरण संरक्षणलाई विशेष महत्त्व दिदै आज एकैदिन ५० हजार वटा विरुवा रोपेको रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’का एसिस्टेन्ट गभर्नर विनोद चापागाईले बताउनुभयो ।
नेपालमा रोटरी इन्टरनेसनलका १६० भन्दा बढी क्लव रहेका छन् । भूटानमा एउटा क्लव रहेको छ । नेपाल र भूटानमा रहेका सबै क्लव रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ अन्तर्गत रहन्छन् ।
वातावरण संरक्षण गरेर भावी पुस्तालाई साझा बासस्थानको रुपमा रहेको स्वच्छ पृथ्वी हस्तान्तरण गर्नु अहिलेको पुस्ताको कत्र्तब्य भएको बताउँदै रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले मेचीनगर क्षेत्रमा फूल फुल्ने प्रजातिका ३०० भन्दा बढी विरुवा आज रोपिएको जानकारी दिनुभयो ।
झापामा रहेका आठ वटा क्लवले आजै तीन हजारभन्दा बढी विरुवा रोपेको रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’का पूर्व एसिसेन्ट गभर्नर एवम् रोटरी क्लव अफ सुरुंगाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताउनुभयो ।
“ग्लोवल वार्मिङका कारण विश्वमा हिमाल पग्लिएर ठूला ठूला बाढी आउनेदेखि समुन्द्रमा पानीको सतह बढेर किनारका सहरहरु डुब्ने जस्ता संकटहरु विश्वव्यापी रुपमा देखा परिरहेका छन्,” पोखरेलले रोटरीको वृक्षारोपण अभियान बारे प्रकाश पार्दै भन्नुभयो–“तापक्रम कम गर्ने उपाय भनेकै वृक्षारोपण हो । कार्वन उत्सर्जन न्यूनीकरण गर्न पनि रुखहरुको भूमिका हुन्छ । त्यहीकारण रोटरी इन्टरनेसनलले वृक्षारोपण अभियान सञ्चालन गरेको हो ।”
यसैबीच, रोटरी क्लव अफ मेचीनगरले मेचीनगर–१० स्थित पर्यटकीय स्थल निन्दा करिडरमा फूल फुल्ने प्रजातिका विरुवा रोपेको छ । रातो सिरिस, जाकारान्दा लगायतका ५० वटा विरुवा घेराबेरासहिथ रोपिएको र अन्य खाली स्थानमा २५० भन्दा बढी विरुवा रोपिएको क्लवकी अध्यक्ष पाठकले जानकारी दिनुभयो ।