१२ साउन २०८२, आइतवार

‘मर्निङ वाक’मा हात्तीसँग जम्काभेट, दुई महिला घाइते

१२ साउन २०८२, आइतवार
Image

झापा, ११ साउन । ‘मर्निङ वाक’मा हिँडिरहेका दमक नगरपालिका वडा नं. १ बरगाछीका दुई महिला आज विहान जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

घाइते हुनेहरुमा सोही वडाकी ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जंगलबाट निस्किएको एउटा हात्तीसँग जम्काभेट भएको थियो । हात्तीले सुँढले बेरेर लडाउँदा दुबै घाइतेको टाउको, हात, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुनिता राईको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जंगलतिर भागेको थियो ।

झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक बनहरुमा एक दर्जनभन्दा बढी संख्यामा रैथाने हात्ती बस्दै आएका छन् । जंगल छेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् । निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र मर्निङ वाकमा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ ।

एक वर्षमा छ जनाको मृत्यु

आर्थिक वर्ष २०८१/८२ मा झापा जिल्लाको विभिन्न स्थानमा हात्तीको आक्रमणमा छ जनाको मृत्यु भएको डिभिजन बन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख भरतवावु श्रेष्ठका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट सात जना मानिस घाइते भएका थिए भने चार वटा हात्ती मृत भेटिएका छन् ।