१५ साउन २०८२, बुधवार

मेचीनगरको निन्दामा बन्यो रु. चार करोडको झोलुङ्गे पुल

१२ साउन २०८२, आइतवार
Image

झापा, ११ साउन । मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु. चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको रहेको छ । पुलले उक्त वडाको सदरमुकाम विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।

उक्त स्थानमा कुनै पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटर उत्तरमा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दूरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच वि.सं. २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो । 

नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद् विश्वप्रकाश शर्मा र कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले वि.सं. २०७९ मङ्सिर १० गते पुलको संयुक्त शिलान्यास गर्नु भएको थियो ।

बजेट सुनिश्चित नहुँदा सम्झौतामा उल्लेखित म्याद वि.सं. २०८२ पुस २७ गतेसम्ममा पुलको निर्माण हुन सकेन । सरकारले सुरुमा रु. ७४ लाख मात्र भुक्तानी गरेपछि काम रोकिएको थियो । बजेट सुनिश्चिततासहित वि.सं. २०८२ पुस २६ गतेसम्ममा निर्माण गरिसक्ने गरी एकवर्ष म्याद थपेर पुल निर्माणको काम अघि बढेको थियो । 

थानी कन्स्ट्रक्सन प्रालिका ईन्जिनियर शेखर रायमाझीले पुलको निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । उद्घाटन हुन बाँकी रहे तापनि स्थानीयबासीले पुलको प्रयोग गर्न थालिसकेका छन् ।

झापा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद् विश्वप्रकाश शर्माले निन्दा नदी वारि र पारिका जनताको वर्षौदेखिको पुलबाट सुरक्षित आवतजावत गर्ने चाहना बल्ल पूरा भएको बताउनु भएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले संघीय सरकारले बजेट सुनिश्चित नगरिदिदा पुलको निर्माणमा ढिलासुस्ती भएको जनाउँदै बारम्बार ताकेता गरेपछि बजेट सुनिश्चित भएर पुल निर्माण भएको बताउनुभयो ।

निर्माण कम्पनीले पुल निर्माण सम्पन्न भइसके तापनि रु. तीन करोड ९४ लाख ८८ हजार ४११ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । हालसम्म रु. एक करोड १० लाख मात्र भुक्तानी पाएको ईन्जिनियर रायमाझीले बताउनुभयो ।

उहाँले पुल निर्माणमा योगदान पुर्याउने सहरी विकास मन्त्रालय, मेचीनगर नगरपालिका, मेचीनगर वडा नं. १५, थानी कन्स्ट्रक्सन प्रालि, स्थानीय राजनीतिक दल र निरन्तर खबरदारी गर्ने स्थानीय युवाहरूप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ ।