झापा, १२ असार । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ संक्रमण पुष्टि भएको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाका अनुसार वडा नं. ३ की ३६ वर्षीया र वडा नं. ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।
संक्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सापकोटाले बताउनुभयो ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले संक्रमितको स्नायु प्रणालीलाई अंगभंग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउनुहुन्छ ।
नगरमा जापानिज इन्सेफलाइटिसको संक्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा. संगीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीहरुसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिनु भएको छ ।
विज्ञ टोलीले संक्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, विरामीहरुको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताउनुभयो ।
छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले संक्रमण फैलिन नदिन स्वाथ्यकर्मीहरुलाई घर–घर पुगेर सचेतना जगाउन र संक्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
संक्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमा समेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।
जापानिज इन्सेफलाइटिस सार्ने भाइरसबाट संक्रमित हाँस, कुखुरा, सँुगुर, बंगुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको संक्रमण फैलिन्छ ।
स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोश हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन् । जापानिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको संक्रमणको जोखिम कम हुने उहाँको भनाई छ ।
यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनु पर्छ । यदि यो खोप लगाउन छुटेको रहेछ भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उहाँले जानकारी दिनुभयो ।